काठमाडौं ।  भारतले नेपालका विभिन्न सडक र पुल निर्माणका लागि साढे ३६ अर्ब रुपैयाँको ऋण सहयोग स्वीकृत गरेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालय सिंहदरबारमा भएको कार्यक्रममा भारतले ऋण सहयोग स्वीकृतीको अन्तिम सहमति पत्र आइतबार नेपाललाई हस्तान्तरण गरेको हो ।

सहमति पछि अब यो रकम खर्च गरेर पूर्वाधार निर्माणका लागि नेपाल सरकारले टेण्डर आह्वान गर्न बाटो खुलेको छ । कार्यक्रममा भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक, भारतका रेलमन्त्री सुरेश प्रभाकर प्रभुलगायत सहभागी हुनुहुन्थ्यो ।

महाकाली नदीमा ४ लेनको पुल, गण्डक नहर सडक, सहजपुर बोक्तान दिपायल सडक,  बसन्तपुर कटहरिया कवाइगोठ पिपलाडी सडक, तराइ शहरी सडक नेपालगञ्ज, घोराही तुलसीपुर सडक, चरिकोट तामाकोशी जिरी सडक र विभिन्न ठाउँमा पुल निर्माण लगायतका परियोजनाका लागि ३६ अर्ब ४७ करोड ऋण सहयोग स्वीकृत भएको हो । ऋण सहयोगबाट महाकाली नदीमा पुल र १५ वटा सडक योजनाको झण्डै ८ सय किलोमिटर सडक निर्माण हुनेछ ।

परियोजना सहमति पत्र हस्तान्तरण कार्यक्रममा मन्त्री लेखकले नेपालको पूर्वाधार क्षेत्रको विकासमा भारतीय सरकारको तर्फबाट भएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो भने भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले नेपाल भारत असल छिमेकी भएको भन्दै सहयोग आदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटका क्रममा नेपालका विभिन्न सडक आयोजनाको प्रभावकारी कार्यान्वयन, हुलाकी सडकमा भारतीय सहयोगको प्रतिबद्धता साथै नेपालमा रेल सेवाको विकास, विस्तार एवं निर्माणाधीन आयोजना प्रभावकारी रुपमा अघि बढाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments