काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटनको लगभग अन्तिमतिर पुगेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्तव्य अवधिभर राष्ट्रियताको व्याख्या गर्दै राप्रपाको खुलेर समर्थन गरे ।  अन्तिमतिर त उनले आफू कम्युनिष्ट भए पनि राप्रपा भनेपछि कताकता नजिक ठान्ने गरेको बताएपछि सामुन्ने रहेको राप्रपा कार्यकर्ताबाट ताली पाएका थिए ।

गणतन्त्र आगमनपछि सुरुका दिन पानी बाराबारको सम्बन्धले हेर्ने नेताले शुुक्रवार दिउसो भने गहिरो सान्निध्यता देखाएका थिए । त्यसको एउटै कारण थियो–सरकारले अघि बढाएको संविधान संशोधन प्रस्तावमा राप्रपाको भूमिका ।

दाहाल भन्दाअघि बोलेका एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले पनि महाधिवेशनको मञ्च आफ्नो पक्षमा भरपूर उपयोग गर्दै राप्रपाका नेतालाई आफैतिर खिचेका थिए । संविधान जारी गर्ने बेलादेखि नै राप्रपाले सुझबुझपूर्ण निर्णय गरेको, राष्ट्रियताको पक्षमा अडान राख्दै आएको भन्दै प्रशंसा पनि गरे ।

हाल चौथो राजनीतिक शक्ति रहेको राप्रपा एकिकरणपछि अझ ठूलो हुन सकोस् भनी महाधिवेशन सफलताको शुभकामना दिएका थिए । आफू नेतृत्वको सरकारका बेला सहकार्य गरेको प्रसङ्ग झिक्दै अध्यक्ष ओलीले राप्रपाको राम्रो कामको दृष्टिले पनि उक्त कार्यकाल ‘स्वर्णकाल’ को रुपमा चित्रण गरेपछि कार्यकर्ताले तालीले स्वागत गरेका थिए । ‘यही रुपमा सही नीति, सिद्धान्त बोकेर अघि बढिरहे राप्रपाले आउदा चुनावमा एमालेबाहेक अरु पार्टीलाई धक्का दिन सक्छ’, ओलीले सँगै मञ्चमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भने आलोचनाको शब्द निकाल्दै भने, ‘राष्ट्रियताबारे कांग्रेस अलमलमा छ । एउटा गीतमा भने जस्तो जाउ, कता जाउ भनी अलमल गर्ने नि पार्टी हुन्छ । राप्रपा जस्तो अडान हुनुपर्छ ।’

राप्रपालाई फकाउने काममा कांग्रेस सभापति शेरबहादुर देउवा समेत पछि परेनन् । तुुलनात्मक रुपमा छोटो बोलेका देउवाले आफू पहिलोपल्ट प्रधानमन्त्री भएका बेला राप्रपा अध्यक्ष थापा र अर्का बरिष्ठ नेता पशुपतिशम्सेर राणा दुवै मन्त्री रहेको प्रसङ्ग झिके । ‘फेरी पनि एकै क्याविनेटमा काम गर्न पाऊँ’, देउवाले सत्ता समिकरणको प्रस्ताव समेत राखेपछि मञ्चको माहोल नै मोडिएको थियो ।

एमाले बाहेक अरु दललाई धक्का दिन राप्रपालाई दिएको शुभकामनाको जवाफ पनि देउवाले दिएका थिए । ‘जुहारी खेले जस्तो भयो । ओलीजीले बोलिहाल्नुभयो । मैले पनि बोल्नैपर्‍र्यौ’, उनले चुनावको प्रसङ्ग राख्दै भने–‘राप्रपाले सबभन्दा बढी भोट झापाबाटै पाएको छ । ओली जी होस गर्नुहोला है ।’

राप्रपा अध्यक्ष कमल थापाले निर्वाचनको मिति तत्काल घोषणा गर्न दाहालसमक्ष माग गरेका थिए । दाहाल भन्दा पछि बोलेका थापाले भने–‘मैले त प्रधानमन्त्री ज्यूले अहिले यही मञ्चमा मिति घोषणा गर्नुहुन्छ भन्ने सोचेको थिए । यहाँ नभएपनि एक/दुई दिनमै मिति घोषणा गर्नुस् । त्यसमा साथ र सहयोग गर्ने पहिलो दल राप्रपा नै हुनेछ ।’ उनले संशोधन विधेयकमा रहेका केही बुँदा भने राष्ट्रियताका दृष्टिले आपत्तिजनक रहेकाले अहिलेकै रुपमा त्यसलाई पास गराउन आफ्नो सहयोग नहुने प्रष्ट पारे । ‘संसोधनमा पुनरावलोकन गरौं, उपाय निस्कन सक्छ’, उनले भने ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments