काठमाडौं । ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो ।

तर नलसिंहगाड विकास समितिका पदाधिकारीले भने विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को काम गरिरहेको परामर्शदाता कम्पनीले नै खर्च व्योहोर्ने भन्दै भ्रमण गर्दा उपयुक्त हुने जनाएको थियो । ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनाको नाममा अध्ययन गर्ने भए माथिल्लो तामाकोसी जान आफूले निर्देशन दिएको जानकारी दिए ।मुलुकभित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना निर्माणको चरणमा रहेको र सोही आयोजनाको अध्ययन गर्दा साधन, स्रोत र पैसाको समेत बचत हुने भन्दै ऊर्जाले विदेश जाने काम नगर्न आग्रह गरेको थियो ।

“मेरो, ऊर्जा सचिवको समेत भ्रमण दलमा नाम राखेर प्रस्ताव आएको थियो । मैले, मेरो र सचिवज्यूको नाम भने काटिदिएँ । आयोजनाका अन्य पदाधिकारीलाई पनि विदेश जाने भन्दा स्वदेशमा नै निर्माण भइरहेका आयोजनामा अध्ययन गर्न भनेको छु,” मन्त्री शर्माले भने ।

आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरले भने नेपाल सरकारलाई कुनै पनि आर्थिक भार पर्ने गरी आफूहरुले विदेश भ्रमण गर्न नलागेको बताए । विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा भएको सम्झौता बमोजिम नै भ्रमणको मनोनयन भएको र त्यसमा कुनै पनि खर्च सरकारको नपर्ने उनको भनाइ छ ।

आयोजनाका पदाधिकारीले भने अमेरिकाको क्यालिफोनिर्याको भ्रमण गर्न चाहेको थियो । तर सो स्थानमा हाल हिँउ परिरहेको भन्दै अष्ट्रेलिया जाने कार्यक्रम बनाएको हो । कुल ४१० मेगावाट क्षमताको सो आयोजनालाई प्राविधिक रुपमा समेत सवल र शसक्त बनाउने लक्ष्यका साथ भ्रमणको कार्यक्रम बनाइएको कार्यकारी निर्देशक कुँवरको भनाइ छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments