काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक कसलाई बनाउने भन्ने विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवावीच विवाद उत्पन्न भएको छ । विवादका कारण विहीवारका लागि तय मन्त्रिपरिषदको बैठक अचानक स्थगित् भएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सत्ता कांग्रेस सभापति देउवाले नेपाल प्रहरीको २५ औं महानिरीक्षकमा आफूले अघि सारेका जयबहादुर चन्दलाई नै बनाउनुपर्ने अडान लिएपछि विहीवारको मन्त्रिपरिषद बैठक प्रभावित बन्न पुगेको हो ।

प्रधानमन्त्री दाहाल भने वरियताक्रममा एक नम्बरमा रहेका डिआईजी नवराज सिलवाललाई नै महानिरीक्षक बनाउनुपर्ने अडानमा रहनुभएको उहाँ निकट स्रोतले बतायो । गृहमन्त्री बिमलेन्द्र निधि पनि सिलवालकै पक्षमा दृढ भएर उभिनुभएको छ । यस विषयमा पार्टी सभापति देउवासँग मन्त्री निधिको केही दिन अघि चर्काचर्की नै परेको खबर बाहिर आइसकेको छ ।

सहमति नभएपछि विहीवार अपरान्ह बस्ने मन्त्रिपरिषद बैठक प्रधानमन्त्री दाहालले मुख्यसचिव डा. सोमलाल सुवेदीमार्फत स्थगित भएको मन्त्रीहरुलाई जनकारी गराउनुभएको छ ।

महानिरीक्षक उपेन्द्रकान्त अर्यालले यही फागुन ३ गतेबाट अवकाश पाउँदै हुनुहुन्छ । डिआईजी सिलवालाई नै महानिरीक्षक बनाउनेबारे गृहमन्त्री निधी र प्रधानमन्त्री दाहाल एकमत रहनुभएको छ । तर काँग्रेस सभापति देउवा भने चन्दलाई नै बनाउनुपर्छ भन्ने अडानमा हुनुहुन्छ ।

यता महानिरीक्षककै दौडमा वरियताक्रममा दोस्रो स्थानमा रहनुभएका प्रकाश अर्याल र चौथोमा रहनुभएका बमबहादुर भण्डारीले पनि आफ्नो पक्षमा लविङ् शुरु गर्नुभएको छ ।

Comments

comments