पश्चिम अफ्रिकामा फैलिएको प्राणघातक रोग इबोलाको भाइरस सार्वजनिक भएका खबरभन्दा अझ खतरानक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै संगठनले प्रकोपको परिमाण रिपोर्टको अवस्थामा र मृत्यु भएको संख्या भन्दा अझ धेरै रहेको बताएको छ । पश्चिम अफ्रिकी राष्ट्र लाइबेरियाबाट सुरु भएको यो भाईरसका कारण गीनी, नाइजेरिया, र सियरा लियोनसम्मका एक हजार ६९ जनाले ज्यान गुमाइसकेको अवस्थामा झनै फैलँदै जाने क्रम जारी रहेको जनाइएको छ ।

इबोला रोकथामका लागि विश्व स्वास्थ्य संगठनले विश्व समुदायले व्यापक मात्रामा पहल सुरु गर्नुपर्ने बताएको छ । यसैबीच संक्रमित क्षेत्रमा अमेरिकास्थित रोग नियन्त्रण शाखाले रोग पहिचान र रोकथाम गर्ने यन्त्रहरु पठाएको छ ।

यता घातक इबोला भाइरस नेपालमा प्रवेश गर्न नदिन हिजोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण डेस्क स्थापना भएको छ ।

आजदेखि सेवालाई सूचारु गर्ने बताइएको छ । स्वास्थ्य परीक्षण डेस्कको लागि १ जना डाक्टर र ४ जना हेल्थ असिष्टेन्टको टोली खटाएकोे स्वास्थ्य विभागका महानिर्देशक डा सेनेन्द्रराज उप्रेतीले जानकारी दिनुभयो ।

विमानस्थलको स्वास्थ्य परीक्षण डेक्सबाट इबोला प्रभावित देशबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्ने र संक्रमित पाइए तीन हप्तासम्म निगरानीमा राखिने उहाँले बताउनुभयो ।

बिहीबार नै स्थापना गर्ने भनिएपनि आवश्यक जनशक्ति परिचालनदेखि तालिमसम्मका कुरा मिलाउनुपर्ने भएकोले ढिलाई भएको हो ।

Comments

comments