सन् २००१ को कुरा हो फूटबल प्रेमी उत्साही युवाहरुले एउटा सोच आगाडी सारे | बीस जनाको जागरिलो युवा खेलप्रेमी समुहले नेपाली समुदायका युवाहरुलाई समेटी स्वयंसेवी खेलकुद प्रेमी संस्थाको परिकल्पना गरे | सोहि परिकल्पना अनुरुप नेपाली फुटबल क्लबको रुपमा “यति फूटबल क्लब”को संरचना तयार भयो | अस्ट्रेलियामा रहेर खेलकुद प्रति रुची राख्ने युवा जमातको आकर्षण बढ्ने क्रम रोकिएन | यसले आफ्नो आकार विस्तार गर्दै नयाँ सदस्यहरु थप्दै गयो | नेपाली युवाहरुको सक्रियता र लगनशीलताको उपज सन् २००८ मा यती फूटबल क्लबलाई अधिकारिक रुपमा संस्थाको रुपमा दर्ता गरियो |
“यतीएफसि” ले पहिलो पटक ” भिक्टोरियन अम्यचर फुटबल लिगमा ” सहभागिता जनाउदा ३०० सदस्य सहित ४० जना प्रतिबद्ध युवा खेलाडीहरु दर्ता भएका थिए | सन् २०१३मा “यतीएफसि”ले अम्यचर बाट सेमी प्रोफेसनलमा फट्को मार्ने प्रयास गर्यो | “यतीएफसि” ले फुटबल फेडेरेसन भिक्टोरिया अन्तर्गत रहेको स्टेट डिभिजन फूटबलमा जोडिने कसरत गर्यो | जहाँ फूटबल प्रेमी युवाहरुले आफुलाई सेमी र प्रेफेसनल खेलाडीका रुपमा प्रस्फुटित हुन पाउँथे | “यतीएफसि”को अस्ट्रेलिया स्थित रिजर्भवाएर/ ब्रूनस्विकमा आफ्नै गृह मैदान छ |

“यतीएफसि”को आफ्नै खेल मैदानमा हरेक आइतबारको दिन बिहान ११ बजे देखि साना बालबालिका तथा नव किशोर किशोरीहरुको निम्ति निशुल्क फूटबल कोचिंग क्लिनिक संचालनमा छ | यहाँ ३ बर्ष उमेर समुह देखि १८ वर्ष सम्मका बालबालिका र नव युवाले निशुल्क सहभागी हुन पाउँछन् | सोहि समयमा तिनका अभिभावकहरुको तन्दुरुस्तीका निम्ति शारीरिक अभ्यास तथा फूटबल खल्ने अवसर प्रदान गरिन्छ | बालबालिका र अभिभावकका निम्ति संचालित यस फुटबल क्लिनिक सुरक्षित बाताबरणमा राष्ट्रिय मान्यता प्राप्त नेपालका पूर्व ए डिभिजन फूटबल खेलाडी, राष्ट्रिय रेफ्री एबं युथ एकेडेमी कोच समेत रहेका ज्ञान बहादुर श्रेष्ठले सहजीकरणका साथै प्रशिक्षण दिने गर्नुहुन्छ |

“यतीएफसि” अस्ट्रेलियाको बिशेष गरी मेलबर्न वरपर रहनु भएका आम नेपाली समुदाय माझ खेलकुदकै मध्यमबाट एकआपसमा भाइचाराको निकट सम्बन्ध स्थापित गराउन ठुलो भूमिका खेल्दै आएको छ | परम्परागत रुपमा नेपाली जनसमुदायको बीचमा रही आएको आत्मीय सम्बन्ध कायम राख्न, नेपालमै रहेका खेलाडीहरु अनि सम्बद्द संघ सस्थाहरु सँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न “यतीएफसि” ले आफ्नो तर्फबाट हर सम्भव प्रयास गर्दै आएको छ | सन् २०१३ मा सम्पन्न सफल पोखरा कप फुटबल टुर्नामेन्टमा सहभागित जनाएको “यतीएफसि”ले नेपाल आर्मी र सशस्त्र प्रहरी बल सँग मैत्रीपूर्ण फूटबल खेल खेलेको थियो | “यतीएफसि” आफै सहभागी भएर अथवा अरु कुनै तरिकाबाट हरेक पटक नेपाली फुटबलका लागि आफ्नो ठाउंबाट महत्वपूर्ण योगदान दिंदै आएको यथार्थ हो |

“यतीएफसि” ले २ पटक इन्टर स्टेट फुटबल प्रतियोगिताको आयोजना गर्यो | अष्ट्रेलियामा रहेका सबै नेपाली फूटबल प्रेमी युवाहरुको सहभागिताको अपेक्षा गरिएको उक्त प्रतियोगितामा क्यानबेरा, एड्लाड़े, डार्विन, सिड्नी र ब्रिसबेनबाट उल्लेख्य फुटबल टिम सहभगी भए | यी र यस्तै विविध कार्यक्रम र प्रतियोगिताबाट उठेको रकमबाट नै सन् २०१३ मा नेपाली राष्ट्रिय टिमका स्काउट खेलाडीहरुलाई केहि आर्थिक तथा खेल सामाग्रीहरु सहयोग गर्ने मौका मिलेको थियो | नेपाली समुदायलाई खेलकुदको माध्यमबाट प्रबर्दन गर्न खुल्ला रुपमा सदस्यता लिन मिल्ने ब्यबस्था गरिएको छ “यतीएफसि” मा | साना बालबालिका देखि परिपक्व उमेरका सबै खेलप्रेमी नेपालीहरुका निम्ति सम्भावनाको ढोका खुल्ला राखेको “यतीएफसि”को संस्थापक महासचिब कर्ण राना हुन् |

साना बालबालिका देखि परिपक्व उमेरका सबै खेलप्रेमी नेपालीहरुका निम्ति सम्भावनाको ढोका खुल्ला राखेको “यतिएफसि” का  संस्थापक महासचिब कर्ण राना हुन् |अष्ट्रेलियामा रहेका नेपाली खेलप्रेमी बालबालिका , किशोर किशोरी तथा युवाहरुको प्रतिभा प्रस्फुटन गराउन  र नेपाली समुदाय बीच खेलकुदका माध्यमबाट सामिप्यता कायम राख्न “यतिएफसि” लागिरहने महासचिव कर्ण दृढता ब्यक्त गर्नुहुन्छ | “यति फुटबल क्लब” को अध्यक्षता गरिरहनु भएका राज शर्मा खेलप्रेमी नेपालीहरुको उत्साह पूर्ण सहभागिता प्रति निकै आशावादी हुनुहुन्छ | “यतिएफसि” मा नै आवद्ध भएका खेलाडी राजु शर्माले विदेशी भूमिमा आएर पनि आफुले फुटबल खेल्ने चाहना पुरा गर्न पाएको मा खुसि व्यक्त गर्छन् | “यतिएफसि” आफु जस्ता युवाहरुको निम्ति प्रतिभा प्रस्फुटन गर्ने उत्कृष्ट स्थान भएको उनको अनुभव छ | सौहार्द पूर्ण वातावरणमा प्रशिक्षित भएर प्रतिष्ठित फुटबल टिमहरु सँग खेल्ने अवसर प्राप्त गर्नु आफ्नो लागि एउटा सपना मात्रै थियो | तर “यतिएफसि” मा आवद्ध भए पछि आफ्नो सपना पुरा हुनेमा ढुक्क छु | खेलाडी शर्माले हामी सँग भने |

Comments

comments