काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको लागि तयारी गर्न निर्वाचन आयोगलाई औपचारिक आग्रह गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको तयारीका लागि आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरेको हो ।

२०७४ वैशाख मसान्तदेखि जेठ १० गतेभित्र निर्वाचन गर्ने तयारी गर्न आयोगलाई आग्रह गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिनुभयो ।

यसैगरी सरकारले दुई नम्बर प्रदेशको सीमांकनको विषयमा विवाद भइरहेकाले त्यसको अध्ययन गरी सुझाव दिन समिति गठन गरेको छ ।

स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित समितिमा आपूर्तिमन्त्री दीपक बोहोरा र उद्योग मन्त्री नविन्द्रराज जोशी सदस्य रहनुभएको छ । समितिको सदस्य सचिवको जिम्मेवारी स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई दिइएको छ ।

समितिलाई दुई हप्ताभित्र अध्ययन प्रतिवेदन सरकारलाई बुझाउन भनिएको सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभयो ।

Comments

comments