एन्फा एकेडेमीबाट फूटबल खेल्न सुरु गरेका जगजीत श्रेष्ठ थ्रीस्टारका सबैभन्दा महंगा खेलाडी हुन् । श्रेष्ठ हाल अष्ट्रेलियाको सनसाइन क्लबबाट खेलिरहेका छन् र छिट्टै नेशनल प्रिमियर लेग खेल्ने तयारीमा छन् । अझै पनि नेपालको राष्ट्रिय टिमबाट खेल्ने चाहना रहेको उनले बताए । प्रस्तुत छ उनै फुटबल खेलाडी श्रेष्ठसँग हिमालयन कङ्गारुका लागि पत्रकार गोपाल सुवेदीले गर्नुभएको कुराकानीको सार संक्षेप :

कहाँबाट फुटबल खेल्न सुरु गर्नुभयो ?

ललितपुरको एन्फा एकेडेमीबाट सुरु गरेको हूँ, वि. सं २०६१ मा ।

कति वर्षको हुनुहुन्थ्यो ?

त्यस्तै ११–१२ वर्षको थिएँ ।

अहिले, अष्ट्रेलियामा हुनुहुन्छ तपाईं, एन्फा एकेडेमीदेखि अष्ट्रेलियासम्मकोखेल यात्रा कस्तो रह्यो ?

जीवनको पाटो हो यो एउटा भन्ने लाग्छ मलाई । सुखद दुखद दुवै रह्यो ।

खेल्न सुरु गर्दा रहरको लागि खेल्नुभएको थियो या करियरको रुपमै सुरुवात गर्नुभएको थियो ?

मैले बच्चाबेलादेखि नै खेल्न सुरु गरेको हूँ । त्यतिबेला रहरले खेलियो । भाग्यवश एन्फामा ठाउँ पाएँ त्यसपछि चाहिं खेलेर नै केहि गर्नुपर्छ भनेर सिरियसली लागें ।

खेल्नमा परिवारले कत्तिको साथ दिनुभयो ?

सुरुमा त साथ दिनुभएन । तर पछि म एन्फामा छानिएपछि भने पूर्णरुपमा साथ दिनुभयो ।

पहिलो पटक कुन क्लबबाट खेल्नुभयो ?

वि.सं.२०६६ मा मनाङ मस्र्याङ्दी क्लबबाट ।

त्यतिबेला तपाईंको उमेर कति थियो ?

त्यतिबेला सत्र वर्षको थिएँ ।

उमेरमा सानो त्यसमाथि जुनियर खेल मात्र खेल्नुभएको त्यो अवस्थामा तपाईंमाथि क्लबको कस्तो आशा थियो ?

क्लबसंग त्यतिबेला पुराना राम्रा खेलाडीहरु थिएनन् । त्यसैले उसले एन्फाबाट मसहित ६ जनालाई लिएको थियो । हामीले त्यति राम्रो खेल प्रदर्शन गर्न सकेनौं र क्लबलाई हामीबाट त्यो आशा थिएन पनि । तर हामी खेलाडीहरुको लागि भने आफूलाई प्रस्तुत गर्ने, धेरै कुरा सिक्ने अवसर बन्यो त्यो ।

अष्ट्रेलियामा आएर फुटबलमा कसरी लाग्नुभयो ?

मेरो फुटबलमै लाग्ने इच्छा थियो । यहाँ आएर म फुटबलप्रेमी र फुटबलसंग सम्बन्धित दाइहरु, साथीहरुसंग नजिकिएँ । सुरुमा मलाई यति क्लबको दाइहरुले ठूलो सहयोग गर्नुभयो । त्यसपछि कोचहरुले चिन्न थाल्नुभयो । सबैको सहयोगमा मेरो इच्छाले एउटा रुप लियो ।

अब यहींबाट मात्र खेल्नुहुन्छ कि नेपालबाट पनि खेल्नुहुन्छ ?

नेपालबाट म टाढिएको छैन । नेपालप्रतिको माया र राष्ट्रिय टिमबाट खेल्ने चाह उत्तिकै छ । यदि नेपालबाट खेलको लागि कल आयो भने जतिनै बेला पनि जान सक्छु

तपाईको तत्कालीन नेशनल टिमका कोच कृष्ण थापाले तपाईलाई तालिममा अल्छि तर राम्रो खेलाडी भन्नुभएको थियो । त्यो बानी सुधार्नुभयो कि उस्तै हो ?

उमेरले पनि फरक पार्दो रहेछ । फेरि मलाई प्रशिक्षण त्यस्तो आकर्षित नलागेको पनि हुन सक्छ । प्रशिक्षणको वातावरणपनि युवाहरु केन्द्रित नभएकोले त्यस्तो भएको हुन सक्छ । अहिले त सबै प्रशिक्षणमा शत प्रतिशन ध्यान केन्द्रित गर्छु, त्यसले खेलमा छनोट हुँदा पनि फरक पार्छ ।

हिमयुनाइटेडदेखि सनसाइनमा कसरी आउनुभयो ?

म आउँदाखेरि नै नेशनल प्रिमियर लेग खेल्न चाहेको थिएँ तर म आउँदासम्म त्यो सिजनको लागि फारम भर्ने म्याद सकिसकेको थियो । त्यो कुर्नुपर्ने समयमा म हिमयुनाइटेडमा आबद्ध भएको हूँ । पछि मैले विभिन्न क्लबहरुमा आवेदन दिएँ र सनसाइनसंग सम्झौता भएको हो ।

सनसाइन क्लबले तपाईंलाई कति तलब दिन्छ ?

अष्ट्रेलियामा खेलेरै बसेर खान बस्न पुगेको छ ।

नेपाल र अष्ट्रेलियाको खेल र स्टेडियममा केहि फरक पाउनुभयो ?

यहाँ मैदानहरू धेरै छन् तर नेपालमा जस्तो खेल हेर्नको लागि दर्शक नआएको पाएँ । यहाँ दिइने प्रशिक्षण राम्रो हुन्छ ।

यहाँ आउँदा आफ्नो करियरको बारेमा कतिको विश्वस्त हुनुहुन्थ्यो ?

नयाँ ठाउँ, नयाँ परिवेश, गाह्रो भयो सुरुका दिनहरुमा । तर विश्वाशका साथ प्रयास,मेहनत जारी राखें ।

आफूलाई खेलाडीको रुपमा यहाँ चिनाउँदा कत्तिको गाह्रो भयो ?

नेपाली भन्ने बित्तिकै अलि हेपाहा प्रवृति पाएँ । हामी नेपालबाट अन्तर्राष्ट्रिय खेल खेल्छौं भन्दा पत्याएनन् । यहाँ खेल्ने अधिकांश खेलाडीहरु युरोपियन छन् । कत्ति खेलमा त राम्रो खेल्दा खेल्दै पनि राम्रो व्यवहार पाइनँ ।

तपाईले यहाँ बनाइरहनु भएको यो करियरले, अरु नेपालीहरुलाई सहयोग पुग्छ भन्ने लाग्छ ?

नेपालीहरु पनि खेल्न सक्छन् है, भन्ने केहि हदसम्म बनाएको छु । अब छिट्टै नेशनल प्रिमियर लेग खेल्दैछु । यसले पक्कै पनि अरु खेलाडीहरुलाई पनि सहयोग पुग्छ भन्ने लाग्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments