नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।

बैठकमा पेस भएका प्रस्तावमा सदस्यहरुले बोल्ने क्रम जारी रहेकाले बैठक केहीदिन लम्बिने देखिएको छ । बैठकमा स्थायी कमिटी र पोलिटब्युरोका लागि उम्मेदवार हुने योग्यताबारे विवाद देखिएको छ ।
नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानलाई अन्तिम रूप दिने सन्दर्भमा पहिलो केन्द्रीय कमिटीद्वारा गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा सदस्यहरुका फरक फरक धारणा आइरहेको छ ।
महाधिवेशनले पोलिटब्युरोमा पुग्न एक पटक केन्द्रीय कमिटीको पूर्ण सदस्य भएको हुनुपर्ने प्रावधान राख्न सुझाव दिए पनि स्थायी कमिटीमा पुग्न योग्यता नतोकेकाले यसलाई कसरी टुङ्गो लगाउने भन्ने देखिएको छ ।

बैठकमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव तथा बैठक सञ्चालन कार्यविधि तथा आचारसंहितासम्बन्धी दस्तावेजमाथि २८ केन्द्रीय सदस्यले छलफलमा भाग लिएको सचिव यागेश भट्टराईले जानकारी दिनुभयो । बोल्नका लागि ७१ जनाले नाम लेखाएका छन् । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय बल्खुमा बस्नेछ ।

Comments

comments