काठमाडौ । रियल मड्रिड लगातार दोस्रो खेलमा पराजित भएको छ । ला लिगा अन्तर्गत गएको आइतबार सेभिल्लासँग २–१ ले हारेको रियल मड्रिड कोपा डेल रे अन्तर्गत बुधबार राति भएको खेलमा पनि पराजित भएको छ ।

कोपा डेल रेको क्वाटर फाइनलको पहिलो लेगमा सेल्टा डि भिगोसँग २–१ ले हारेको हो । गएको मार्च देखि लगातार ४० खेलसम्म अपराजित रहेर कीर्तिमान बनाएको रियल मड्रिडको यो सन् २०१५ को नोभेम्बरपछि पहिलो लगातार हार हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड गोलरहित बराबरीमा रोकिएको थियो । ६४ औं लागो एस्पासले सेल्टाका लागि पहिलो गोल गरे । त्यसको पाँच मिनेटपछि मार्सेलोले रियल मड्रिडका लागि बराबरी गोल फर्काए ।

एक मिनेटपछि नै कास्ट्रो ओट्टोले गोल गर्दै सेल्टालाई २–१ को जित दिलाए । ८ मिनेट बाँकी हुँदा करिम बेन्जिमाले प्रहार गरेको बल क्रसबार भन्दामाथिबाट गएको थियो । अघिल्लो चरण प्रवेशका लागि रियल मड्रिडलाई आउँदो बुधबार हुने दोस्रो लेगमा जित आवश्यक छ । राति नै भएको अर्को खेलमा एलाभेसले एल्कोर्कोनलाई २–० ले हरायो ।

Comments

comments