काठमाडौं । इतिहासकै सर्वाधिक व्यवसाय गर्न सफल नेपाली चलचित्र छक्कापञ्जामाथि प्रतिबन्ध लाग्ने सम्भावना बढेको छ ।

चलचित्र छक्का पन्जाको पाइरेसीमा मुछिएका नवलपरासी कावासोतीका कृष्ण सुबेदीको शंकास्पद मृत्युको निष्पक्ष छानबिनको माग गर्दै नेपाल बिद्यार्थी संघ नवलपरासीले छक्कापञ्जा चलचित्रमाथि नै प्रतिबन्ध लगाउन माग गरेको हो । संघले भर्खरै युट्युबमा सार्बजनिक भएको चलचित्र छक्का पन्जा टिमका सबै चलचित्र नवलपरासीमा प्रतिबन्ध गर्न आह्वान गरेको छ ।

संगठनले निस्पक्ष छानबिन गरि दोषीलाई कारवाही नभएसम्म छक्का पन्जा टिम घटनासंग जोडिएकाले त्यस टिमले उत्पादन गरेका कुनैपनि चलचित्र नवलपरासीका हलमा चल्न नदिने बताएको छ । त्यति गर्दा पनि दोषी उपर कारवाही नभए थप आन्दोलनका कार्यक्रम ल्याउने नेपाल बिद्यार्थी संघले जनाएको छ । नोबेल कलेज सिनामंगलमा अध्यानरत कृष्ण सुबेदी गत पुस २८ गते आफ्नै कोठामा शंकास्पद तरिकाले झुन्डिएको अवस्थामा भेटिनु र नोटमा आफुलाई पटक–पटक मार्ने धम्कि आउने उल्लेख भएकाले घटना गम्भीर भएको भन्दै निष्पक्ष छानविन हुनुपर्ने नेविसंघको माग छ ।

चलचित्र पाइरेसी गरेको उजुरी परेपछि केहि दिन अघि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धानका क्रममा सुवेदीसहित चार जनासँग सामान्य सोधपुछ गरेको थियो । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले पाइरेसी गर्ने व्यक्ति अर्कै भएको र उनीहरुको संलग्नता नदेखिएकाले सचेत गराएर छाडेको बताउनुभएको थियो ।

Comments

comments