इबोला भाइरस भित्रन नदिनका लागि सरकारले गरेको तयारीका विषयमा संसदलाई जानकारी गराउन सभामुख सुवासचन्द्र नेम्वाङले रुलिङ गर्नुभएको छ ।

आजको बैठकमा सांसद धनराज गुरुङले विश्व नै इबोला भाइरसबाट आतंकित भइरहेको र संयुक्त राष्ट्रसंघले पनि सचेत रहन आह्वान गरिरहेको उल्लेख गर्दै सरकार भने विज्ञप्ति मात्र जारी गरेर बसेको भन्दै रुलिङको माग गनुभएको थियो । त्यही प्रश्नका आधारमा सभामुख सुवास नेम्बाङले इबोला भाइरस भित्रन नदिनका लागि सरकारले चालेका कदमबारे जानकारी दिन निर्देशन दिनुभएको हो ।

परराष्ट्र मन्त्रालयले नेपालीहरुका लागि ‘इबोला’ भाइरसबाट प्रभावित मुलुकहरुको भ्रमण नगर्न आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । मन्त्रालयले पश्चिम अफ्रिकाका चार मुलुकहरु गिनी, नाइजेरिया, लाइबेरिया र सियरालियोन इबोला भाइरस रोगबाट प्रभावित भएको भन्दै ती मुलुकहरुमा नजान आग्रह गरेको हो ।

ती मुलुकहरुमा झन्डै दुई हजार व्यक्तिहरु इबोला भाइरसबाट संक्रमित भएको र एक हजारभन्दा बढीको मृत्यु भइसकेको पनि मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार इबोला भाइरस रोग अत्यन्त छिटो सर्ने खतरनाक र घातक रोग हो । यो रोग संक्रमित व्यक्ति वा जनावरको रगत, शरीरबाट निस्कने तरल वस्तु वा कोषिकासँग प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिमा सर्ने गर्दछ ।

इबोलाको औषधि हालसम्म पत्ता लाग्न नसकेका कारण उपचारमा समस्या हुने गरेको छ ।

Comments

comments