काठमाडौं । सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम विवाह बन्धनमा बाँधिदै हुनुहुन्छ ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवका भतिजा अभिषेक यादवसँग राष्ट्रपतिपुत्री निशाकुसुमको विवाह हुन लागेको हो । विवाहको लगन सोमबारलाई जुराइएपछि शितलनिवासमा विवाहको चटारो बढेको छ । अभिषेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । दुई महिनाअघि नै दुलाहा, दुलहीबीच शीतल निवासमै इन्गेज्मेन्ट अर्थात टीकाटालो भएको थियो । पूर्व राष्ट्रपति र वहालवाला राष्ट्रपतिबीच सम्धी सम्धिनीको सम्बन्ध गाँस्ने भएपछि धेरैले यो विवाहलाई हाई प्रोफाइल विवाहको संज्ञा दिइएको छ । तर विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुसुमबीच विवाहको प्रसंग केही वर्षदेखि नै चलेको थियो ।

२९ वर्षीय अभिषेक बूढानीलकण्ठ स्कुलमा अध्ययनताकाकै निशाकुसुमका सहपाठी हुन् । समावेशीको नमुनासमेत रहेको यस विवाहले पूर्व र वर्तमान राष्ट्रपति परिवारलाई पारिवारिक साइनोमा बाँधेको छ । वैवाहिक कार्यक्रम सोमबार बिहान ९ बजे राष्ट्रपति निवासको पुरानो भवनमा राखिएको छ । त्यसका लागि कोशी हलको अघिल्तिरको खाली भागमा जग्गे तयार पारिएको छ । वैवाहिक कार्यक्रमलाई संक्षिप्त र सामान्य ढंगले सम्पन्न गर्ने तयारी गरिएको स्रोतले बतायो । राष्ट्रपति भण्डारीले दुलाहा पक्षलाई पनि बढी तामझाम नगर्न सुझाव दिनुभएको बताइएको छ । सामाजिक व्यवहार सुधार ऐनमा ५१ जनाभन्दा बढी जन्ती ल्याउन नहुने उल्लेख भएकोले राष्ट्रपतिका तर्फबाट पनि थोरै मात्र निम्तालुलाई निम्ता गरिएको छ ।

तर करिब १५ सय पाहुनाहरु उपस्थित हुने अनुमान गरिएको शितल निवास स्रोतले जनाएको छ । पाहुनाहरुको खानपानको व्यवस्था गर्ने जिम्मेवारी कार्की क्याटरिङलाई दिइएको छ । दुलाहा पक्षलाई भने ५१ जनाभन्दा बढी जन्ती नल्याउन आग्रह गरिएको छ । उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश र मन्त्रीहरू, राजनीतिक दलका अध्यक्षलाई कार्यक्रममा निम्ता गरिएको छ । निम्तोपत्रमै कुनै नगद वा जिन्सी नल्याउन आग्रहसमेत गरिएको छ । सुरक्षाका कारण देखाई निम्तालुहरुलाई अनिवार्य रुपमा निम्ता पत्र साथमा लिएर आउन अनुरोध गरिएको शितल निवास स्रोतले बतायो ।

साथै निम्तालुहरुलाई १२ : ०५ बजेपछि उपस्थित हुन आग्रह गरिएको छ । इन्जिनियरिङका विद्यार्थी अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लन्डनबाट समेत उच्च शिक्षा लिनुभएको छ । निशाकुसुमले भने नयाँदिल्लीबाट एमबीबीएस गर्नुभएको छ । दुलाहा अभिषेकका तर्फबाट भने माघ ५ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा प्रीति भोजको आयोजना गरिनेछ ।

Comments

comments