काठमान्डौ । यो सिजनका सर्वाधिक गोलकर्ता डिएगो कोस्टा बिना खेलेको चेल्सीले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा साबिक विजेता लिसेस्टर सिटीलाई पराजित गरेको छ । चेल्सीले लिसेस्टरलाई उसकै मैदानमा ३–० ले हराउँदै सात अंकको अग्रता कायम गरेको छ । चेल्सीलाई जिताउन मार्कोस एलोन्सोले दुई तथा पेड्रोले एक गोल गरे । छैटौं मिनेटमा नै एलोन्सोले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको चेल्सीका लागि ५१ औं मिनेटमा एलोन्सोले व्यक्तिगत दोस्रो गोल गरे । ७१ औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई ३–० को जित दिलाए । फिटनेशको विषयमा फिटनेश प्रशिक्षक र मुख्य प्रशिक्षकसँग भएको विवादका कारण यो खेलमा कोस्टा खेलेका थिएनन् । खेलमा लिसेस्टर सिटीले केही मौका बनाए पनि गोल भने गर्न सकेन । जितपछि शीर्ष स्थानको चेल्सीको २१ खेलबाट ५२ अंक भएको छ । चेल्सी दोस्रो स्थानको टोटनह्याम भन्दा सात अंकले अघि छ ।

Comments