काठमान्डौ ।  इंग्लिस प्रिमियर लिग लिडर चेल्सीका स्ट्राइकर डिएगो कोस्टालाई लिग अन्तर्गत लिसेस्टर सिटीसँगको खेलको टिमबाट हटाइएको छ । फिटनेशको विषयमा क्लबका फिटनेश प्रशिक्षकसँगको विवादका कारण कोस्टालाई शनिबार राति हुने लिसेस्टर सिटीसँगको खेलको टिमबाट निकालिएको हो । कोस्टा तीन दिनदेखि प्रशिक्षणमा छैनन् । कोस्टालाई चिनियाँ क्लबबाट प्रस्ताव आएको खबर पनि सार्वजनिक भएका छन् । २८ वर्षका कोस्टाले यो सिजन प्रिमियर लिगमा १४ गोल गरिसकेका छन् र पाँच गोलका लागि सहयोग गरेका छन् ।

चेल्सीले लिसेस्टरसँगको खेलका लागि कोस्टा नभएको बारेमा केही बताएको छैन । चेल्सीका मालिक रोम्यान अब्रामोविच सम्झौता अघि नै कोस्टालाई रिलिज गर्ने पक्षमा छैनन् । कोस्टाको चेल्सीसँगको सम्झौता सन् २०१९ मा सकिनेछ । जनवरीको सुरुमा कोस्टाले आफूले अघिल्लो समरमा चेल्सी छोड्न चाहेको तर अहिले क्लबमै बसेकोमा खुशी रहेको बताएका थिए । चेल्सी कोस्टासँग नयाँ सम्झौता हुनेमा आशावादी भएको थियो ।

तर फिटनेश प्रशिक्षक जाुलियो टोउससँगको विवादका कारण समस्या भएको छ । कोस्टा सन् २०१४ मा चेल्सी आएका हुन् । अब उनी पुरानै क्लब एथ्लेटिको मड्रिड जान चाहेका छन् । फिटनेशको विषयमा प्रशिक्षक एन्टोनी कोन्टेसँग पनि कोस्टाको विवाद भएको छ ।

Comments