काठमाडौं । भन्सार बिभागले एकैपटक २९ जना कर्मचारीहरुलाई जिम्मेवारीबाट बर्खास्त गरेको छ । विमानस्थल भन्सारबाट ३५ किलो अवैध सुन भित्रिएको भोलिपल्ट विभागले मिलोमतोको आशंकामा ती कर्मचारीलाई निलम्बन गरेको हो ।

त्रिभुवन बिमानस्थलको भन्सारबाट छाडिएको ३५ किलो सुनसहित तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले बिहीबार पक्राउ गरेको थियो ।

सुन भित्रिँदाको सिफ्टमा काम गरिरहेका कार्यालय सहयोगीदेखि उपसचिवसम्म कर्मचारीहरु पदमुक्त भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार प्रमुख नारायण सापकोटाले जानकारी दिनुभयो । घट्नाका बारेमा आन्तरिक छानबिन पनि सुरु गरिएको उहाँले बताउँनुभयो ।

यसैबीच भन्सार विभागले सुनलाई कसरी, कसको मिलेमतोमा छाडियो भन्ने विषयमा छानविन गर्न एक समिति बनाएको छ । भन्सारका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो ।

समितिमा विभागकै कुलराज ज्ञवाली, टंक पाण्डे, पुण्यविक्रम खड्का लगायत छन् । समितिमा अर्थ मन्त्रालयका कानुन हेर्ने एक कर्मचारीलाई पनि प्रतिनिधिको रुपमा छानबिन समितिमा राखिएको छ ।

एयर अरेबियाको जहाजबाट ल्याइएको ३५ किलो सुनसहित नेपालगञ्जका गोपाल शाही, दिलबहादुर थापा र सन्तोष काफ्ले पक्राउ परेका थिए ।

Comments

comments