काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको अवरोध एमालेले कहिल्यै नचाहेको दाबी गर्नुभएको छ ।

सरकारले जबर्जस्ती कुनै औचित्यविनाको संशोधन प्रस्ताव दर्ता गराएकोले बाध्य भएर आफ्नो पार्टी एमालेले संसद अवरुद्ध पार्नुपरेको अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।

विहीबार पार्टी मुख्यालय धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनमा ओलीले सर्वोच्च अदालतको आदेशले सरकारलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिन बाटो देखाएको टिप्पणी गर्नुभयो । उहाँले सीमाकंन फर्ने प्रस्ताव संविधान विपरित छ भन्ने कुरालाई सर्वोच्चको फैसलाले स्पष्ट पारेको जिकिर गर्दै अब सरकारले उक्त प्रस्ताव संसदमा पेश गर्न नमिल्ने तर्क गर्नुभयो ।

अदालतको आदेशपछि विरोध गरिरहनुको कुनै औचित्य नरहेको बताउँदै अध्यक्ष ओलीले संसद चल्न दिने संकेत गर्नुभयो । तर, सरकारले अझै जबरजस्ती गरि अगाडि बढाए कडा जवाफ दिन एमाले सधैं तयार रहेको उहाँको चेतावनी थियो ।

अध्यक्ष ओलीले तराई र पहाड विभाजन गरि राष्ट्रियतामाथि नै प्रश्न उठ्नेगरि कुरो आएकोले सीमाकंन हेरफेरको विरोध गरिएको प्रष्ट पार्नुभयो ।

Comments