काठमाडौं । लामो समयदेखि अवरुद्ध व्यवस्थापिका संसद खुलाउने बारे सभामुख ओनसरी घर्तीमगर र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

बुधबार बिहानै बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सभामुख घर्तीमगरले पुस २४ गतेसम्म संसद स्थगित भएको समयमा दलहरुवीच सहमति जुटाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

भेटमा उहाँले प्रधानमन्त्री दाहाललाई सरकारको नेतृत्वकर्ताको हैसियतले दलहरुवीच सम्वाद गरी सहमति खोज्न आग्रह गर्नुभएको स्रोतले बतायो ।

सभामुखको आग्रहपछि प्रधाानमन्त्री दाहालले आजैदेखि सहमति खोज्न लागिपर्ने बताउँनुभएको थियो ।

सभामुखले सहमति जुटाउन विभिन्न दलका नेताहरुसँग गरिरहेको छलफल र प्रयासलाई सकारात्मक भन्दै प्रधानमन्त्रीले प्रशंसा गर्नुभएको थियो ।

सर्वोच्च अदालतले संविधान संशोधन प्रस्ताव अघि बढाउन बाटो खोले पनि एमालेले संसदमा गरेको अवरोध कायमै राख्दा मंगलबार संसदको बैठक चल्न नसकेपछि सभामुख घर्तीमगर सहमतिका लागि दौडधुपमा लाग्नुभएको हो । उहाँले संसदको अर्को बैठक पुस २४ गतेका लागि आह्वान गर्नुभएको छ ।

यसअघि उहाँले मंगलवार नै एमाले अध्यक्ष केपी ओली,कांग्रेस सभापति शेरवहादुर देउवा र काँग्रेस नेता रामचन्द्र पौडेलसँग पुस २४ सम्म सहमति खोज्न आग्रह गर्नुभएको थियो ।

Comments