टोक्यो । जापानमा स्थायी रुपमा बस्न र जुनसुकै काम गर्न पाउन पीआर लिन आवश्यक छ । एकपटक पीआर लिइसकेपछि असीमित समयसम्म जापानमा बस्न सकिन्छ । पीआरको नवीकरण पनि ७ वर्षमा एकपटक गरेपुग्छ ।

सामान्यतया जापानमा निरन्तर १० वर्षसम्म बसेपछि पीआर भिसाका लागि आवेदन दिन पाइन्छ । यसमा परिमार्जन गरेर सरकारले ३ वर्षमा झार्ने योजना भर्खरै बनाएको छ । अझ यदि तपाई कुनै दक्ष पेशासँग सम्बद्ध हुनुहुन्छ भने एक वर्ष जापान बसेपछि पीआर भिसामा आवेदन दिन सकिन्छ । तर दक्ष पेशा भने जापानको अद्यागमन विभागमा सूचीकृतभित्रको हुन आवश्यक छ ।

यस्तै जापानी नागरिकसँग विवाह गरेका वा धर्म पुत्र पुत्रीहरुले पनि तीन वर्षपछि पीआर भिसा पाउँछन् । तर यसबीचमा ट्याक्स नबुझाएमा अथवा ट्याक्स सर्टिफिकेट नभएमा,सामाजिक जीवन विमा नगराएमा वा कुनै गम्भीर ट्राफिक नियम उल्लंघन गरेको पाइएमा भने जापानी नागरिकसँग विवाह गरेका वा धर्म पुत्र पुत्रीहरुले समेत पीआर भीसा नपाउन सक्छन् ।

कहिले काहीं आर्थिक हैसियतका कारण पनि पीआर भीसा नपाउन सक्छ । किनभने विद्यमान व्यवस्था अनुसार पीआर भिसा लिन चाहने सिंगल भए वार्षिक आम्दानी ३,३००,००० येन,युगल भए ४,०००,००० येन र बच्चा पनि साथमा भए ४,५००,००० येन हुनुपर्ने प्रावधान छ ।

पीआर पाइसकेपछि ख्याल राख्नुपर्ने कुराहरु

जापानको पीआर भिसाका लागि तपाईले दिनुभएको आवेदन स्वीकृत भइसकेपछि तपाईले पीआर भिसा कार्ड पाउँनुहुन्छ । यदि तपाईले पहिले नै अर्कै हैसियतमा जापानको आवासीय कार्ड लिइसक्नुभएको भए साट्नुपर्ने हुन्छ । पहिलोपटक पीआर भिसा कार्ड पाइसकेपछि तपाईले स्थानीय नगरपालिकाको कार्यालयमा गएर आफ्नो कार्ड दर्ता गराउनुपर्छ । यदि तपाईले बस्ने स्थान परिवर्तन गर्नुभएको छ भने नयाँ ठेगाना समेत उपलब्ध गराउनुपर्छ ।
तपाईको व्यक्तिगत विवरण पहिले नै अद्यागमन कार्यालयले सम्बन्धित नगरपालिका कार्यालयमा अनलाइन मार्फत पठाइसकिएको हुन्छ । त्यसैले दर्ता गर्न कुनै समस्या पर्दैन ।

के गरेमा पीआर भिसा रद्द हुन्छ ?

पीआर भिसा भनेकै जापानमा बस्न तपाईलाई सरकारले दिएको वैधानिक अनुमति हो । पिआर भिसा लिएपछि आफ्नो देश वा अन्य मुलुकमा जान नपाउने भन्ने छैन । तर पिआर लिएर ६ वर्षसम्म जापान बाहिर रहनुभयो भने तपाईले ७ वर्षमा गर्नुपर्ने पिआर नवीकरण हुँदैन । यसको मतलव तपाईको पिआर भिसा रद्द हुन्छ । त्यसैले १ वर्षभन्दा बढी जापान बाहिर बस्नुपरेमा रि इन्ट्री परिमिट लिनु सुरक्षित हुन्छ ।

यदि तपाई कुने गम्भीर अपराधमा संलग्न भएको पुष्टि भयो अथवा कर छलि गरेको प्रमाणित भयो भने पनि तपाईले जापानमा स्थायी रुपमा बस्ने हैसियत गुमाउनुहुन्छ र तपाईको पीआर भिसा रद्द हुन्छ ।

जापानी आफन्तको देहन्त भए वा डिभोर्स भए के हुन्छ ?

यदि तपाईको जापानी आफन्तको देहन्त भयो भने वा तपाईको जापानी श्रीमान अथवा श्रीमतीसँग डिभोर्स भए पनि तपाईको पिआर भिसामा कुनै फरक पर्दैन ।

पीआर भिसाका लागि कसरी आवेदन दिने ?

सबैभन्दा पहिले पीआर भिसाका लागि आवेदन फाराम लिनुपर्छ । त्यसभन्दा अघि तपाईले हरेक कागजातहरु जापानी भाषामा राम्रोसँग लिखित रुपमा तयार पार्नुपर्छ । त्यसरी आवेदन दिदा तपाईले जापानको पिआर किन लिन खोज्नुभएको खुलस्त रुपमा जापानी लिपि र भाषामा लेख्नुपर्छ । आवेदनसँगै तपाईले काम गरिरहेको अवस्थाको फोटो,परिवारसँ खिचिएको फोटो पनि बुझाउनुपर्छ । तपाईले जति बढी विवरण बुझाउन सक्नुभयो उति नै सहजसँग छिटो पिआर पाउने सम्भावना रहन्छ ।

तपाईको व्यक्तिगत विवरण खुलाउन जन्मदर्ता,विवाह दर्ता लगायतका प्रमाणपत्रहरु आवश्यक पर्छ । यस्तै अध्ययन गरेको विश्वविद्यालय र काम गरिरहेको कम्पनीको प्रमाणित सिफारिस पत्र पनि आवश्यक पर्छ । त्यतिले मात्र पनि अपुग हुन्छ । आवेदन दिदा तपाईले अन्तिम पटक बुझाउनुभएको ट्याक्सको बिल वा पूर्जीका साथै तपाई स्वास्थयविमा गराएको कम्पनीको प्रमाणपत्र समेत आवश्यक पर्छ ।

यो भन्दा पनि अझ कठिन कुरा हो तपाईले एकजना जापानी नागरिकलाई आफ्नो साक्षी वा ग्यारेन्टर बनाउँनुपर्छ । धेरै जापानीहरु विदेशीलाई तुरन्तै विश्वास नगर्ने भएकोले ग्यारेन्टी बस्न मनाउन अलि गाह्रै पर्छ । अझ ग्यारेन्टी बस्नेको पेशा,आम्दानीको प्रमाणपत्र,नागरिकता वा पीआर सर्टिफिकेटको प्रतिलिपि पनि बुझाउनुपर्छ ।

जापानको अद्यागमन कानूनविद्हरुको परामर्शका आधारमा यो लेख तयार पारिएको हो । सम्पादक

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments