काठमाडौं । नेपालका आदिवासी जनजाति समुदायका अगुवाहरुले राजनीतिक दलहरुले विगतमा गरेका प्रतिवद्दताहरु विर्सदै गएको गुनासो गरेका छन् । उनीहरुले आदिवासी जनजातिका माग पूरा गर्न सरकार पनि उदासीन बनेको आरोप लगाएका छन् ।

सोमवार नेपाल तामाङ घेदुङ ताम्सालिङ प्रदेशको ३ नम्बर प्रादेशिक भेलामा आदिवासी जनजाति अगुवाहरुले तामाङ लगायतका आदिवासी जनजाति समुदायको उत्थानका लागि सरकारले अझै ध्यान दिन नसकेको बताएका हुन् । नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले संविधान जारी भएको एक वर्ष भन्दा बढी वितिसक्दा पनि आदिवासी जनजाति समुदायले कुनै परिवर्तनको अनुभूतिसम्म गर्न नपाएको बताउँनुभयो । उहाँले मुलुकमा परिवर्तनको प्रत्याभूत गर्ने वातावरण बनाइदिन सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।

भेलामा प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई खोस्ने प्रयास भईरहेकोले सबै एकताबद्द भएर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले नेपाली जनताले ल्याएको परिवर्तन समेत खतरामा पर्दै गएको उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा पुन संघीय गणतन्त्र, धर्मनिरपेक्षता उल्ट्याई राजतन्त्र उल्ट्याउने दुष्प्रयास भईरहेको बताउनुभयो ।

कार्यक्रममा तामाङ संस्कृति झल्किने विभिन्न नृत्य तथा गीतहरुको प्रस्तुति समेत रहेको थियो ।

Comments

comments