पहिले नै निर्धारित गरिएको भन्दा धेरै सयम बोल्न पाइन भन्दै मंगलबारको संसदमा राप्रपा नेपालका संसदीय दलका नेता कमल थापाले  अचानक उत्पात मच्चाए | कारण थियो चाहे जति समय बोल्न पाइएन |

स्थानीय निकायको निर्वाचन गराइयोस् भनी थापाले संसदमा  प्रस्ताव राखेका थिए। सो प्रस्तावमा उनले दस मिनेट बोल्न समय पाएका थिए। दस मिनेको ठाउँमा बाह्र मिनेट बोलिसकेपछि सभामुख सुवासचन्द्र नेम्वाङले माननीय सदस्य, छिटो बोलिसक्नुस भनेपछि थापा सन्किन सुरु गरे |  थापाले आक्रोशित हुँदै मैले बोल्न किन समय नपाउने भन्दै आक्रोश व्यक्त गरेका थिए। सभामुखले समय सकियो भनेपछि उनले थप आक्रोश देखाएर मैले किन बोल्न नपाउने, बोल्न नपाइने भएकैले संसदको प्रभावकारीता घट्दै गएको छ भन्ने टिप्पणी गरे।

 सभामुख नेम्वाङले पनि आफ्नो अधिकार अनुरुप एक आदेश जारी गरे “तपार्इंको अभिव्यक्तिलाई संसदको रेकर्डबाट मेट्न आदेश दिन्छु।”  कमल थापाको आक्रोश रोकिएन ” यस्तो निरंकुशता हो भने  हामी यो बैठक बहिष्कार गर्छाैं” थापले भने |दलका नेता थापाको घोषणासँगै राप्रपा नेपालका सभासदहरु बसेको कुर्सीबाट उठेर वेल (रोष्ट्रम अगाडिको भाग)मा आए। थापा पनि रोष्ट्रमबाट ओर्लिएर वेलमा आए। त्यसपछि उनले आक्रोशित हुँदै मैले किन बोल्न नपाउने भन्दै सभामुख अगाडि पटिको जमिनको भागमा मुड्कि बजारे। थापाले मुड्की बजारेपछि संसदका मर्यादापालकहरु आई  सभामुखको अगाडिको भाग घेरेर बसे।

सभामुख नेम्वाङले भने, ‘माननीय सदस्य, विगतमा यस्तै प्रस्तावका प्रस्तावकहरुलाई दस मिनेट बोल्न समय दिइएको छ, तपाईलाई १२ मिनेट समय दिइसकेको छु।’ तैपनि थापा मानेनन्, उनी चिच्याउन थाले, उनले विद्यार्थी नेताले सडकमा देखाए झैं आक्रोश देखाएका थिए। सभामुख नेम्वाङले सम्झाउँदै उक्त व्यवहार ठीक नभएको र बोल्न जे समय दिएको हो, त्यो संसदले  नै बनाएको नियमावली अनुसार रहेको बताए |

निकै बेर आक्रोश देखाएपछि कमल थापा केही शिथिल भए। त्यसपछि सभामुखले प्रस्तावका समर्थक  दिलनाथ गिरीलाई बोल्नका लागि पाँच मिनेट समय दिए। गिरीले हामी बोल्दैनौं, कमल थापालाई बोल्न समय दिनुपर्छ भन्दै चिच्याए। त्यसपछि प्रस्तावका अर्का समर्थक सुशिल श्रेष्ठलाई बोल्न समय दिए। सुशिलले पनि बोल्दिन भने। गिरी र श्रेष्ठ दुवै राप्रपाका सभासद हुन्।

करिब आठ मिनेट संसद बैठक अवरुद्ध भयो, यसबीच थापाले आफ्ना सभासदहरुसँग खासखुस गरे। सभामुखले भने, ‘बहिष्कार गरेर हिँड्नुहुन्छ भने राम्रो सन्देश जाँदैन। तपाइले प्रस्ताव प्रस्तुत गर्न नचाहनुभएको अर्थ लाग्छ।’ यो कुरा सभामुखले बारम्बार दोहोराएपछि थापा सहित राप्रपा नेपालका सभासदहरु सोंचमा परे। उनीहरु ठण्डा हुँदै आएको देखेपछि सभामुखले भने, ‘माननीय कमल थापा, मैले दस मिनेटको ठाउँमा १२ मिनेट समय तपाईलाई दिएँ। के यो मेरो गल्ती हो?’

त्यसपछि नेम्वाङले भने, ‘माननीय कमल थापा, तपाईलाई आफ्नो प्रस्ताव वाचन गर्नका लागि मात्र म थप समय दिन्छु।’ त्यतिन्जेल थापालाई आफ्नो गल्तीको महशुस भइसकेको थियो क्यार, उनी रोष्ट्रममा गए।

रोष्टममा गएर थापाले भने, ‘सभामुख महोदय, अहिले अचानक यहाँ जे भयो, त्यसमा म सभामुखसँग क्षमा माग्छु। मेरो त्यस्तो कुनै नियत होइन तर सबै कुरा अचानक भयो। मैले बोल्नुपर्ने कुरा बास्तवमा बोलिसकेको पनि थिएँ।’

थापाले माफी त  मागे तर उनको त्यो उत्पात रिस र क्रियाकलापले संसदीय दैनिकीमा एउटा धमिलो दाग देखिएको छ | पटक पटक संसद र सरकारमा प्रतिनिधत्व गरेका थापाले नजानेर त्यो ब्यबहार संसद भित्र  पक्कै गरेका थिएनन् होला त्यसैले संसदीय मान्यतालाई आवेशमा  कुल्चिएर फुर्सदमा माफी माग्नुले उनको  व्यक्तित्व माथि नयाँ प्रश्न उठिरहने छ |

Comments

comments