मेलबर्न । अष्ट्रेलिया देश मात्र नभएर छुट्टै महादेश हो । नेपालभन्दा ५३ गुणा ठूलो भएर पनि जनसंख्या जम्मा दुई करोड ४० लाख मात्रै छ । जम्मा ६ वटा राज्य र दुईवटा टेरिटोरीमा बाँडिएको अष्ट्रेलियाले आवश्यक मानव जनशक्ति आप्रवासीहरुबाट पूरा गर्ने गरेको छ । तीमध्ये अधिकांश अन्तराष्ट्रिय विद्यार्थीका रुपमा अष्ट्रेलिया बस्ने गर्छन् । नेपालबाट पनि प्रत्येक वर्ष ६ देखि ८ हजारको संख्यामा विद्यार्थी भिसामा अष्ट्रेलिया जाने गरेका छन् । अहिले सहज भिसा प्रक्रियाले नेपाली विद्यार्थीका लागि अनुकुल वातावरण रहेको छ । तर अष्ट्रेलियामा अध्ययनका लागि योग्य हुन निम्न आवश्यकताहरु पूरा गर्नुपर्दछ :

अब्बल शैक्षिक योग्यता :

अष्ट्रेलियामा जुन तहमा अध्ययन गर्न जाने हो त्यो भन्दा तल्लो तहमा प्रथम श्रेणीमा उत्तीर्ण भएको र अध्ययनपछि शैक्षिक ग्याप नभएको विद्यार्थीलाई अष्ट्रेलियाको भिसा आवेदनका लागि योग्य मानिन्छ । तर स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरिसकेकाहरका लागि अध्ययनपछि रोजगारीमा संलग्न भएको प्रमाण भएमा ग्याप मानिदैन । आफ्नो अध्ययनमा अब्बल भएका र अध्ययनसँगै सम्बन्धित पेशामा संलग्न भएका नेपाली विद्यार्थीलाई मात्रै अध्ययन भिसा आवेदनका लागि योग्य हुन्छन् । पिएचडी अध्ययनका लागि जान भने पर्याप्त अनुसन्धानमा संलग्न भएको प्रमाण पेश गर्नुपर्छ ।

तह अनुसार अँग्रेजी भाषमा दक्षता :

अष्ट्रेलिया अँग्रेजी भाषी देश हो । त्यहाँ अध्ययन गर्न वा काम गर्न अनिवार्य रुपमा अँग्रेजीको दक्खल हुनु जरुरी छ । अध्ययन गर्न चाहेको शैक्षिक तहअनुसार आइइएलटिएस अथवा अन्य भाषा परीक्षणमा उपयुक्त स्कोर प्राप्त गरेको हुनुपछ । सामान्यतयाः स्नातकका लागि आइइएलटिएसमा ६ र स्नातकोत्तर तहका लागि ६.५ स्कोर प्राप्त गरेको हुनुपर्छ ।

आइइएलटिएस बाहेक विश्वविद्यालय,कलेज अथवा भिसा अफिसले टोफल,पिटिई,सिएइ लगायतका भाषा परीक्षा पनि मान्यता दिएको छ ।
अष्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीले प्रति हप्ता २० घण्टा पार्ट टाइम गर्न पाइने भएकोले अँग्रेजीको दक्षता चाहिन्छ । किनभने काम गर्नका लागि पनि अष्ट्रेलियामा राम्रो अँग्रेजी भाषा आवश्यक पर्छ ।

आर्थिक योग्यता :

अष्ट्रेलियामा सरकारले कुनै पनि अन्तराष्ट्रिय विद्यार्थीलाई भिसा दिनु अघि विद्यार्थीले अध्ययन शुल्क,खाने र बस्ने सहितको खर्च अभिभावकले थाम्न सक्छ कि सक्दैन भनेर परीक्षण गर्दछ । यसका लागि ३५–४० लाख रुपैयाँको शैक्षिक कर्जा अथवा बैंक ब्यालेन्स देखाउँनुपर्छ ।

अहिले अधिकांश विश्वविद्यालयले नेपालका नबिल र एसविआई बैंकलाई मात्र मान्यता दिएका छन् । बैंक ब्यालेन्स र शैक्षिक कर्जाका साथमा अभिभावको आम्दानीको स्रोत करिब वार्षिक १५ लाख तथा सम्पत्ति मूल्यांकन एक करोड रुपैयाँको देखाउँनुपर्छ । डिपेन्डेन्ड भिसामा श्रीमान्,श्रीमती वा बच्चा लैजान पाउने भएकोले त्यसका लागि ५०–६० लाखको बैंक ब्यालेन्स वा शैक्षिक कर्जा देखाउँनुपर्छ । त्यसैले चुस्त आर्थिक हैसियत भएका अभिभावकका छोरा छोरीलाई मात्र अष्ट्रेलियाको विद्यार्थी भिसा आवेदन सफल हुन्छ ।

राम्रो स्वास्थ्य र राम्रो छवि :

शैक्षिक र आर्थिकबाहेकका कुरामा पनि योग्य हुनुपर्छ । स्वास्थ्य परीक्षणमा उत्तीर्ण हुनुपर्छ । कुनै फौजदारी अभियोग नलागेको हुनुपर्ने व्यवस्था छ । कुनै पनि अवैधानिक रुपमा प्रवेश गरेको हुनुहुँदैन । साथै यसभन्दा अघि कुनै देशमा भिसा रिजेक्ट भएको छ भने त्यसको कारणलाई पनि खोज्ने गरिन्छ ।

(शिक्षाविद् महेशबाबु तिमिल्सिनासँग गरिएको कुराकानीमा आधारित )

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments