नेपाली कला क्षेत्रका चम्किला नक्षेत्र श्रीकृष्ण श्रेष्ठले भौतिक रुपमा अब सदाका लागि विदा लिए | मनोरन्जनको दुनियाँमा आफ्नो स्वच्छ प्रतिभा पस्किएर सबैको मन मुटुमा बसेका श्रीले छोटो जीवनमा धेरै सहृदयी आफन्तबनाएका रहेछन् भन्ने तथ्य उनले जीवनको अन्तिम स्वाश ग्रहण गरे पछि मात्र दुनियाँले थाहा पायो | आफ्नो जीवनकालमा कहिलै कसैको पक्षपोषण नगरी स्वतन्त्र पूर्वका काल क्षेत्रमा लगनशील रहेका श्रीलाई नियतिले भने आफ्नो ठानेन | जीवनको भरभराउँदो उमेरमा निकै नहुने गरि रोगले समाते पछि पनि निरन्तर आफ्नो छोटो जीवनलाई आफ्ना प्रशंसकहरुका निम्ति समर्पित गर्न हरप्रयास गरिरहे श्रीले |

नेपाली कला इतिहासमा नै रास्ट्रिय सम्मानका साथ अन्तिम विदाई पाएका श्रीले आफ्नो जीवनकालमा भने राज्यले कलाकार प्रति देखाउने मायाको आभाष गर्न पाएनन् | लामो समय देखि नेपाली कला क्षेत्रलाई नजिकबाट नियाली रहनुभएका लेखक एबं चलचित्र निर्माता प्रकाश सायमीले यो तीतो यथार्थलाइ सामाजिक सन्जाल मार्फत लेखेका छन् ” नेपाली चलचित्रका पहिलो नायक शिवशंकर, गोपाल योञ्जन, फत्यमान राजभण्डारी, गायिका कोइलीदेवी माथेमा, अरुण थापालाई राष्ट्रिय झन्डा ओढाउन नसक्ने नेपाल सरकारले यसपालि सहृदयता देखाएको छ , अभिनेता श्रीकृष्णलाई । सलाम ।” साच्चै आफ्नो मृत्युवरणको मूल्य कसैले पनि जीवनकालमा अनुमान लाउन पाउंदैन वा नसक्ने रहेछ |

shreesamman

श्रीको निधनमा रसाउने लाखौँ आँखाहरु भए होलान् , हजारौ पाइलाहरु उनको अन्तिम विदाइमा आर्यघाट सम्म पुगे | त्यो दृश्य हेर्दा लाग्थ्यो मिल्थ्यो भने तिनले श्रीलाई जुनकुनै हालतमा फिर्ता लिएर आउंछन् | तर वास्तविकतामा प्राकृतिक सत्य मृत्युलाई जित्ने तागत अहिले सम्म कसैको छैन | जसमा संसारको जीवन चक्र जोडिएको छ | हर मृत्युलाई स्विकार्नु बाहेक अर्को विकल्प प्राणीलाई दिइएको छैन | हरेक प्राणीको मृत्युको मूल्य प्राकृतिक रुपमा समान भए पनि सामाजिक प्राणीको पगरी गुथेको मानव जातिमा सचेतताको हिसाबले मृत्युको मूल्य फरक फरक हुँदो रहेछ | मानिसले जीवनको छोटो कार्यकालमा व्यक्तिगत स्वार्थलाई छोडेर समाजप्रति समर्पित गरेको विशुद्ध योगदानको मूल्य मृत्यु पस्चात् प्रतिबिम्बित हुँदोरहेछ | जो हामी श्रीको निधन पछिका यी दिनहरुमा देखि रहेका छौं |

त्यहि आर्यघाट हो जहाँ हरेक पल एक आम नागरिकले यो धर्तीबाट अन्तिम विदाई लिइरहेको हुन्छ | साधारणतया अझै पनि मानिसले आफ्नो  आफन्तकै  समेत मृत्युको खबर नपाएका हुन्छन् | कतिपय अवस्थमा परिवार र आफन्त कोहि नभेटिएको भन्दै एक अर्को नागरिकको बेहारिसे शव जल्ने स्थान पनि त्यहि आर्यघाट हो |  र त्यहि आर्यघाट हो जहाँ श्री जस्ता होनहार नागरिकले राष्ट्रिय सम्मानका साथ हजारौंको बलिन्द्र धारा आँशु छिचोलेर विदाई लिनुपर्छ | यो मृत्युको मूल्य फरक पर्नुमा सहजै अनुमान गर्न सकिन्छ कि श्री यो देशका अमुल्य गहना थिए, जसलाई यो दुनियाँले हरहालतमा गुमाउन चाहेको थिएन | नचाहँदा नचाहँदै सोमबारको सन्ध्याकालीन समयमा हजारौ समर्थकहरुको उपस्थितिमा परिवारजनले आफ्ना प्रिय पारिवारिक सदस्य एवं लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई दागबत्ति दिए | उनको पन्च भौतिक निष्प्राण शरीर प्रकृतिले फिर्ता लियो | श्री अब संग्रहित सृजनाका रुपमा मात्र हाम्रो निकट रहनेछन् | जो सदैव अमूल्य रहेनछ |

Comments