काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकहको आन्दोलनका कारण ओपिडी सेवा ठप्प भएको छ ।

अनशनमा रहेका डा गोविन्द केसीको माग सम्बोधनमा सरकारले चासो नदेखाएको भन्दै शिक्षण अस्पताल महाराजगञ्जका आवासीय डाक्टरले ओपिडी सेवा बहिष्कार गरेका छन् ।

ओपिडी सेवा शैक्षिक कार्यक्रम अन्तर्गतकै भएकाले शुक्रबारदेखि सेवा बहिष्कार गरेको आवासीय डाक्टरले बताएका छन् । शिक्षण अस्पताल महाराजगञ्जमा साढे दुई सयको हाराहारीमा आवासीय डाक्टर छन् । उनीहरुले ओपिडी सेवा नदिँदा उपचार सेवा प्रभावित भएको छ ।

आवासीय डाक्टर बाहेक अरु विशेषज्ञ डाक्टरले ओपिडी र शल्यक्रियासहित आकस्मिक सेवाका बिरामी हेर्नु पर्ने भएकाले उपचार प्रभावित हुने नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीका अध्यक्ष सागर पोखरेलले बताउनुभयो । आवासीय डाक्टरले सेवा बहिष्कार गर्दा अस्पतालमा पुग्ने बिरामीले समयमा नै उपचार नपाउने उहाँले बताउनुभयो ।

यस्तै डा। केसीको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले शिक्षण अस्पतालका मेडिकल विद्यार्थीहरुले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिँदैछन् । दिउँसो १२ बजेदेखि धर्ना दिने नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीले जनाएको छ ।

डा  केसीको समर्थनमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा दिउँसो नेपाल चिकित्सक संघसँग छलफल गरेपछि निर्णय गर्ने सोसाइटीले जनाएको छ । मेडिकल शिक्षाको सुधारका लागि भन्दै डा। केसी १० औँ पटक अनशनमा हुनुहुन्छ । अनशनमा बसेको बिहीबार १३ औँ दिन पुगिसक्दा पनि सरकारले कुनै चासो दिएको छैन । केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments