काठमाडौं । संविधान संशोधनको विषयलाई लिएर दलहरुबीच तीब्र धुव्रिकरण सुरु भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संशोधनको विषयलाई लिएर संसदमा एमाले पनि छ भन्ने हेक्का राख्न चुनौती दिदै गर्दा राप्रपा अध्यक्ष कमल थापाले संशोधन दर्ता हुनै दिन्न भन्नु अतिवाद भएको बताउनु भएको छ । संशोधनलाई लिएर सत्तारुढ माओवादी केन्द्रमा पनि मतान्तर देखिएको सार्वजनिक हुँदै गर्दा काँग्रेसले भने संशोधनमाथि पहिला संसदमा छलफल गर्न जरुरी रहेको बताएको छ ।

एमाले निकट अनेरास्ववियू र युवा संघले विहिबार आयोजना गरेको संविधानको कार्यान्वयन र संशोधन विषयक विचार गोष्ठीमा अध्यक्ष केपी शर्मा ओलीले गलत उद्धेश्यले निर्माण भएको वर्तमान सरकारले गलत नियतले संविधान संशोधनको प्रस्ताव दर्ता गर्न लागेको आरोप लगाउनु भएको छ । उहाँले संविधान संशोधनको प्रस्ताव कुनै पनि हालतमा पारित नहुने ठोकुवा गर्दै संसदमा एमाले पनि रहेको याद गर्न र संसदमा संशोधन प्रस्ताव दर्ता भएमा एमाले त्यस्को विरोधमा उत्रने चेतावनी दिनुभयो ।

कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले उद्घोषण गरेको भरमा संविधान संशोधन हुन नसक्ने बताउनु भयो । उहाँले संविधान समाबेशी छैन भनेर देश–विदेशमा खुब प्रचार गरिए पनि संविधान समावेशिताको हिसाबले संसारकै उत्कृष्ट संविधान भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले असफल हुने संशोधन प्रस्ताव दर्ता गराउनुको औचित्य नरहेकोे बताउनुभएको छ । उहाँले सबै दलले आ–आफ्ना एजेण्डा लिएर निर्वाचनमा जानुपर्ने र दुई तिहाई ल्याउने दलले आफ्ना एजेण्डामा संविधान संशोधन गर्दा विवाद नहुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेर छलफल गराउनु नै बुद्धिमानी हुने बताउनुभयो । संविधानमा संशोधन आवश्यक रहेको जिकिर गर्दै उहाँले संशोधनले सबैको प्रतिनिधित्व रहने दावी गर्नुभयो ।

त्यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले देशको अखण्डता र स्वतन्त्रतामाथि कुनै खतरा नभएको जिकिर गर्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments