मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुको संगठन नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

स्थानीय कोबर्ग लाईब्रेरीको हलमा सम्पन्न साधारणसभाले विधानमा केही संशोधन गरेको छ भने वार्षिक कार्य समीक्षा र आगामी वर्षका लागि योजनाहरु समेत पारित गरेको छ । साधारणसभामा संस्थाका उपाध्यक्ष तारा गैरेले गएको आर्थिक वर्षको गतिविधिका विषयमा प्रकाश पार्नुभएको थियो । यस्तै कोषाध्यक्ष सन्तोष पाण्डेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । गत आर्थिक वर्षमा ८८ हजार डलरभन्दा बढी खर्च गरी विभिन्न कार्यक्रम सम्पन्न गरेको न्याभले आफ्नो खातामा ५ हजार डलर बचत रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । यो हिसाब गत जुन ३० तारिखसम्मको भएको न्याभले जनाएको छ ।

न्याभका अध्यक्ष डा. अनुपम पोखरेलले आगामी वर्षका कार्ययोजना सार्वजनिक गर्नुभएको थियो । अध्यक्ष डा. पोखरेलका अनुसार न्याभले आगामी दिनमा न्याभ बाल चौतारीलाई पश्चिमी क्षेत्रमा विस्तार, युवाहरुमा राजनीतिक चेतना अभिबृद्धि कार्यक्रम सञ्चालन र बहुसांस्कृतिक क्रिकेट प्रतियोगिताको आयोजना गर्ने लक्ष्य राखेको छ । पोखरेलका अनुसार न्याभको वेवसाईटमा विभिन्न उपयोगी जानकारीलाई समावेश गर्ने क्रमलाई पनि यथावत राखिने भएको छ । साधारणसभामा गएको वर्ष न्याभले ९ वटा विभिन्न परियोजना सञ्चालन गरेको र १४ वटा विभिन्न कार्यक्रममा आफ्नो सहभागिता जनाएको पनि सार्वजनिक गरिएको थियो ।

यसैबीच, साधारणसभामा उपस्थित भएका सदस्यहरुलाई कार्यसमितिको महिला उपाध्यक्ष मनिषा राईले दिनुभएको राजीनामा स्वीकृत गर्दै वर्तमान कार्यसमितिकै सदस्य रेशिका केसीलाई उपाध्यक्षका रुपमा मनोनयन गरिएको छ । यस्तै सदस्य अभिषेक केसीले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।

उक्त अवसरमा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले बोल्दै न्याभले आफ्नो भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । नेप्लीज बहुसांस्कृतिक केन्द्रका अध्यक्ष रञ्जन वैद्यले बहुसांस्कृतिक केन्द्र निर्माणको हालसम्मको प्रगतिका विषयमा जानकारी दिनुभएको थियो भने एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं भिक्टोरिया संयोजक केशव कँडेलले नेपाल महोत्सवको सहआयोजनक न्याभ भएका कारण अब सहकार्यलाई अझ तिव्रता दिन आग्रह गर्नुभयो । कँडेलले नेपाल महोत्सव आगामी डिसेम्बर १७ तारिखमा आयोजना हुने भएकोले यसमा समूदायका सबै सदस्यहरुले हातेमालो गर्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा उपस्थित न्याभका सदस्य लगायत भिक्टोरियामा रहेका विभिन्न संघ संस्थाका पदाधिकारीहरुले प्रतिवेदनहरुमा समावेश गरिएका विषयवस्तुमा आफ्नो धारणा राखेका थिए ।

-MNTV

Comments