कैलाली । नौ जनाको ज्यान जाने गरी गत वर्ष भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि बिग्रिएको सामाजिक सद्भाव अहिलेसम्म राम्ररी सुधार हुन सकेको छैन ।

विग्रिएको सम्बन्धलाई पहिलेकै अवस्थामा ल्याउन पीडितलाई न्याय र तोडफोडका घटनाको क्षतिपूर्ति दिन आवश्यक रहेको नागरिक अगुवाहरुको भनाई छ ।

राष्ट्रिय मानव अधिकार आयोगले सोमबार धनगढीमा टीकापुर घटनाका विषयमा गरेको छलफलमा सहभागिहरुले न्याय र क्षतिपूर्ति नभई सद्भाव कायम हुन नसक्ने बताएका हुन् । टीकापुर घटना जघन्य अपराध भएकाले घटनामा संलग्नको मुद्दा फिर्ता लिन नहुने र निर्दोषले न्याय पाउनुपर्ने अधिकारकर्मीले बताएका छन् । पीडकलाई कारबाही र पीडितलाई क्षतिपूर्ति नभएसम्म सामाजिक सद्भाव कायम हुन नसक्ने राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले बताउनुभयो । उहाँले सामाजिक सद्भावलाई पूर्ववतः अवस्थामा फर्काउन राज्यले अग्रसरता लिनुपर्ने बताउँदै सामाजिक सद्भाव बिग्रीएको टीकापुर र आसपासका क्षेत्रमा राज्यले आफ्ना निकाय मार्फत कृषि र उद्यम आदि जस्ता जीविकोपार्जनका गतिविधिमा सहयोग गरेर सद्भावका लागि भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल बार एशोसिएसन कैलालीका अध्यक्ष प्रेम चन्दले टीकापुर घटनापछि पक्राउ परिने डरले भागेकाहरु अहिले पनि घर फर्कन नसकेको उल्लेख गर्दै निर्दोषलाई नफसाउने र दोषी पत्ता लगाउन प्रभावकारी अनुसन्धान गरिनुपर्ने बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

कार्यक्रममा पूर्वसांसद हिरादत्त भट्टले कानूनी राज्यमा अपराध गरेका व्यक्तिलाई उन्मुक्ति दिन नसकिने बताउदै मान्छे मार्नु जघन्य अपराध भएकाले देशमा राज्य छ भन्ने अनुभूतिका लागि पनि अपराधीलाई उन्मुक्ति दिन नहुने बताउनुभयो । उहाँले टीकापुर घटना अघि र पछि भएका आन्दोलनसंग सम्बन्धित अरु घटनाको पनि छानविन गरिनुपर्नेमा जोड दिनुभयो ।

गत भदौ ७ गते भएको टिकापुर घटनामा १ जना बालक सहित ८ जना सुरक्षाकर्मिको मृत्यु भएको थियो ।

Photo : File

Comments

comments