मेलबर्न । अष्ट्रेलियामा नेपाली समुदायले खेल क्षेत्रमा निकै फड्को मारेको पाइन्छ । प्राय सबै राज्यमा हरेक हप्ता कुनै न कुनै खेल गतिविधिहरु भैरहेका छन् । यसले गर्दा खेल प्रतिभाहरु जन्मिने क्रम पनि बढेको छ । त्यही प्रतिभामध्येमा पर्छन् गोकुल ढकाल । नेपालको बुटवल घर भएको ढकाल क्रिकेटका आशा लाग्दा खेलाडि हुन् । उनी एडिलाइड नेप्लीज क्रिकेट एशोसियसनको लागि खेल्छन् । सानैदेखि क्रिकेट भनेपछि भुतुक्कै हुने ढकाल अहिले पनि हरेक हप्ता क्रिकेट अभ्यास गर्छन् भने आफूलाई फिट रहन हरेक दिन शारीरिक व्यायम गर्छन् । प्रस्तुत छ उनै ढकालसँग गरिएको छोटो मीठो स्पोर्टस् टल्क

अहिले कहाँ रहनुहुन्छ ?

एडिलाइड,अष्ट्रेलिया

नेपालमा तपाईको घर कहाँ हो ?

बुटवल

कुन खेल खेल्नुहुन्छ ?

क्रिकेट

कहिलेदेखि क्रिकेट खेल्न थाल्नुभयो ?

म बच्चैदेखि क्रिकेटको क्रेजी थिएँ । शायद ५ वर्षको भएदेखि नै क्रिकेट खेल्न थालेको थिएँ ।

सानोमा कुन कुन खेल खेल्नुहुन्थ्यो ?

क्रिकेट,कबड्डी स्वीमिङ खेल्थें । तर भिडियो गेम खेल्न भनें कहिल्यै मन लागेन ।

gokul-dhakalक्रिकेट खेल्दाको कुनै अविस्मरणीय घट्ना छ ?

छ । मलाई क्रिकेट खेल्न असाध्यै मन पर्छ । जब म १५ वर्षको थिएँ,एकदिन म स साना भाइहरुसँग क्रिकेट खेलिरहेको थिएँ । त्यो टिममा सबैभन्दा जेठो र ठूलो म थिएँ । त्यतिखेर मलाई मेरो वुवाले देख्नुभयो । म त्यसरी बच्चाहरुसँग खेलेको उहाँले मन पराउँनुभएन । रिसाएर उहाँ मलाई पिट्न आउँनुभयो तर म भाग्न सफल भएँ । मेरो क्रिकेटप्रतिको पागलपनबाट रिसाएर वुवाले मलाइ पिट्न लखेट्नुभएको त्यो दिन दिमागमा अझै ताजै छ ।

खेल क्षेत्रप्रति कसरी आकर्षित हुनुभयो ?

मेरो बाल्यकाल भारतमा वित्यो । भारतमा हुँदा त्यहाँको सबैतिरको महोल क्रिकेटमय थियो । बाहिर सबै क्रिकेट खेल्थे भने घरमा टेलिभिजनमा पनि त्यही क्रिकेट नै हेरिन्थ्यो । त्यसैबाट मलाई पनि क्रिकेटको चाख बढ्दै गयो ।

घरमा अहिले टेलिभिजनमा क्रिकेट हेर्न रिमोट खोसाखोस पर्छ ?

पर्छ नि । जब छोरी ठूली भईन् उनको कार्टुन च्यानल र मेरो स्पोर्टस् च्यानलबीच तीव्र प्रतिस्पर्धा चल्छ । तर अन्ततः छोरीले नै जित्छिन् ।

नेपालमा खेलाडीहरुको भविष्य देख्नुहुन्छ ?

अहिले त निकै सुधार र विकास भएको छ । त्यसैले नेपालमा खेलेर पनि जीवन चलाउन सकिन्छ भन्ने वातावरण बन्न थालेको छ । तर खाली पेटले कहिल्यै खेल्न सकिदैन । त्यसैले खेल क्षेत्रमा सरकारले नै लगानी बढाउनुपर्छ । किनभने जब सबैतिरबाट आवश्यक सपोर्ट मिल्यो भने खेलाडीले निर्धक्क भएर खेल्न पाउँछन् र प्रतिफल पनि मीठै पाइन्छ ।

तपाईलाई क्रिकेटमा कुन टिम राम्रो लाग्छ ?

म अष्ट्रेलियन टिमको फ्यान हूँ । तर खेलाडीमा चाहिं भारतको एमएस धोनी मन पर्छ । उनी निकै समर्पित र मिहिनेती खेलाडी हुन् । मैले अहिलेसम्म देखेको कमालको खेलाडी धोनी नै हुन् ।

 

अष्ट्रेलियाको व्यस्त जीवनमा कसरी खेलका लागि समय छुट्याइरहनुभएको छ ?

म प्राय आइतवारका दिन क्रिकेटका लागि समय छुट्याउँछु । तर शारीरिक व्यायम,टेबल टेनिश,ब्याडमिन्टन लगायतका इन्डोर खेलहरु भने दैनिकजसो नै खेलिरहन्छु ।

अष्ट्रेलियामा कुनै क्लबका लागि खेल्नुहुन्छ ?

म यहाँ एएनसिए अर्थात एडिलाइड नेप्लीज क्रिकेट एशोसियसनका लागि खेल्छु ।

अष्ट्रेलियामा खेल्दाको कुनै खास अनुभव ?

मलाई एउटा म्याच सधैं याद आउँछ । हामीलाई १२ आभेरमा ११३ रन आवश्यक थियो । त्यहीबेला म ब्याटिङका लागि आएँ । त्यतिखेर मैले ३० बलमा ८० रन जोडें । त्यो म्याच एक ओभर बाँकी छदै हामीले जित्यौं । अहिले पनि जब म क्रिजमा क्रिकेट खेल्न उत्रन्छु,त्यही पल दोहोर्याउन कोशिस गरिरहन्छु ।

प्रस्तुति : गोपाल सुवेदी

twgg-advertise

 

Comments

comments