मेलबर्न । युट्युव मार्फत धुम मच्चाउन सफल नेपाली डान्स ग्रुप द नेक्स्ट अष्ट्रेलियामा क्रियाशील छ । यो ग्रुपको विशेषता विदेशी भूमिमा रहेर पनि नेपाली गीतमा मात्र नाच्नु हो ।

समूहमा चार केटा र चारै केटी रहेका छन् । उनीहरु सबैजना अष्ट्रेलियामै बस्दै आएका छन् । बी–बोइङ र हिपहपमा नेपाली कल्चरल स्टेप मिसाउन खप्पीस यो ग्रुपले पहिलो पटक जालमा …गीतको कभर डान्स युट्युवमा अपलोड गरेको थियो । पहिलो कभर डान्स नै दुई महिनामा करिब ३० लाख बढीले हेरेपछि यो ग्रुप रातारात चर्चामा आयो भने ग्रुपको उत्साह पनि बढ्यो । टिमका लिडर तथा कोरियोग्राफर प्रदीप लामाले एक साप्ताहिक पत्रिकासँग भनेका छन्–पहिलो भिडियोबाटै हामीले नसोचेको सफलता पायौं । त्यसपछि हामीलाई काम र कलेज भ्याएर नियमित डान्स प्राक्टिस गर्ने जाँगर पलायो ।

twgg-advertise

कोरियोग्राफी,छायांकन र सम्पादन समेत चुस्त र उत्कृष्ट हुने भएकोले द नेक्स्ट ग्रुपको भिडियो सधैं प्रतीक्षित हुने गर्दछ । उनीहरुले कभर गरेको नेपथ्य व्याण्डको मै नाच..ले २३ लाख बढी दर्शक पाएको छ । यस्तै अल्मोडा राणाको पानी पर्योले पनि युट्युवमा २० लाख बढी भ्यूज पाइसकेको छ ।

लोकप्रियता बढ्दै गएपछि अफिसियल भिडियोका लागि समेत अफर आउन थालेको प्रदीपले बताए । हालै यो समूहले अष्ट्रेलियामै रहेका गायक विश्व नेपालीको मीठो बोलको गीतको भिडियो तयार पारेका छन् । यो समूहको युट्युव च्यानल २० हजार सब्स्क्राइब भइसकेको छ भने भिडियो हेर्नेको संख्या आधा करोड पुगिसकेको छ ।

आफू जस्तै डान्समा रुची भएकाहरुलाई यो समूहले बेला बेलामा सिड्नीमै डान्स क्लास र वर्कशपहरु समेत सञ्चालन गर्दै आएको छ ।

Comments