मेलबर्न । एक व्यक्तिले मेलबर्न बैंकमा आगजनी गर्दा कम्तीमा २० जना सर्वसाधारण घाइते भएका छन् । आगजनी गर्ने ती व्यक्तिलाई मेलबर्न प्रहरीले नियन्त्रणमा लिएको छ ।

अहिले उनको प्रहरी निरानीमा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । यद्यपि आगजनी गर्ने व्यक्तिको परिचय र कारणबारे भने प्रहरीले केही खुलाएको छैन ।

उनले शुक्रवार मध्यान्ह स्प्रीङभेलमा अवस्थित कमनवेल्थ बैंकमा आगजनी गरेका थिए । आगो लागेपछि तुरुन्त आकस्मिक कक्षका कर्मचारीहरुलाई खबर गरिएको थियो । कमनवेल्थ बैंकमा शुक्रवार विहान ११.३० बजेको समयमा आगजनी भएको प्रहरीले पुष्टि गरेको अष्ट्रेलियन समाचार एजेन्सीहरुले जनाएका छन् ।  ।

आगजनी गर्ने व्यक्ति सहित अरु थप पाँच जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । अन्य १६ को अवस्था भने सामान्य रहेको बताइएको छ । १६ जनामा २ जना बालबालिका समेत रहेका छन् । उनीहरुमा सामान्य श्वासप्रश्वासको समस्या मात्र देखिएको अस्पतालले जनायो ।

आगजनीपछि प्रहरीले स्प्रीङभेल क्षेत्रको सडक बन्द गराएको छ भने बैंकले पनि आफ्नो कर्मचारीको सुरक्षा पहिलो प्राथमिकता रहेको भन्दै बाँकी समयका लागि बैंकको सेवा बन्द गराएको छ ।

Photo Credit : www.sbs.com.au

Comments

comments