सुमन सिंह अष्ट्रेलियन नेपाली क्रिकेटका दर्शकहरुको लागि चिरपरिचित नाम हो । काठमाडौंका स्थानीय सिंहले सानैदेखि क्रिकेट खेल्न थालेका हुन् । नेशनल टिमको छनौट खेलमा समेत राम्रो प्रदर्शन गरेका उनले अष्ट्रेलिया आएर पनि क्रिकेटलाई निरन्तरता दिदै आएका छन् । त्यसक्रममा उनले मेलबर्नका गोर्खाली क्रिकेट क्लब,द प्रिस्टन हिमालयन क्लब र सगरमाथा क्रिकेट क्लब जस्ता थुप्रै क्लबहरुबाट खेलेर यहाँका क्रिकेटप्रेमी दर्शकहरुको मन जित्दै आएका छन् । अष्ट्रेलियाव्यापी इन्टरस्टेट क्रिकेट च्याम्पियनसीपमा समेत भिक्टोरिया राज्यको तर्फबाट खेलिसकेका उनले त्यतिखेर अर्धशतक स्कोर गरेर धेरैलाई आश्चयचकित बनाएका थिए । उनै क्रिकेट खेलाडी सुमन सिंहसँग हिमालयन कङ्गारुले गरेको छोटो मीठो खेल संवाद यहाँ प्रस्तुत छ ः

तपाईको नेपालमा घर कहाँ पर्छ ?
काठमाडौं ।

कहाँ पढ्दै हुनुहुन्छ ?
मेलबर्नको एसियुमा नर्सिङमा स्नातक गर्दैछु ।

मन पर्ने खेल ?
क्रिकेट

कहिलेदेखि खेल्न थाल्नुभयो ?
१४ वर्षको उमेरदेखि खेल्न थालेको हूँ ।

सानोमा कुन कुन खेलहरु खेल्नुहुन्थ्यो ?
क्रिकेट,टेबल टेनिश,ब्याडमिन्टन,फुटबल र स्नुकर खेल्थें ।

बाल्यकालमा खेल खेल्दाका कुनै अबिस्मरणीय सम्झना छ ?
मैले पहिलोपटक नेशनल सेलेक्सन टुर्नामेन्टमा खेल्दा डबल अर्धशतक हानेको थिएँ । त्यसबाट प्रभावित भएर मैले सिनियर टिमहरुसँग खेल्ने मौका पाएँ । त्यतिखेर मेरो उमेर भर्खर १७ वर्षको थियो ।

खेल क्षेत्रप्रति कसरी आकर्षित हुनुभयो ?
म आफैंलाई थाहा छैन,कि कसरी म यस क्षेत्रप्रति आकर्षित भएँ भनेर । तर मलाई जतिखेर पनि क्रिकेट मात्र खेलिरहन मन लाग्थ्यो ।

twgg-advertise

तपाई आफ्नो हुनेवाला श्रीमती वा गर्लफ्रेण्ड कस्तो होस् भन्ने चाहनुहुन्छ ?
अवश्य पनि मलाई खेल्न सपोर्ट गरिरहने र क्रिकेट मन पराउँने होस् भन्ने चाहन्छु ।

घरमा टेलिभिजन हेर्न खेलका कारण रिमोट खोसाखोस भएको अनुभव छ ?
थुप्रै पटक हुन्छन् यस्तो घट्ना । विशेष गरि दाजुभाइहरुसँग ।

नेपालमा खेलाडीहरुको भविष्य उज्ज्वल देख्नुहुन्छ ?
सरकारले नै खेल क्षेत्रका लागि भनेर आवश्यक लगानी नगरेसम्म खेलाडीहरुको भविष्य खासै उज्ज्वल देख्दिनँ म । सरकारले आवश्यक नीति बनाएपछि बल्ल विभिन्न कम्पनीहरुले खेलाडीहरुलाई लगानी गर्ने वातावरण बन्छ ।

तपाईलाई मन पर्ने क्रिकेट टिम र खेलाडी को हुन् ?
मलाई इन्डियन टिम मनपर्छ । एमएस धोनीको म सख्त फ्यान हूँ ।

अष्ट्रेलियाको व्यस्त जीवनशैलीमा समेत कसररी खेल क्षेत्रका लागि समय छुट्याइरहनुभएको छ ?
जहाँ इच्छा त्यहाँ उपाय भन्ने भैहाल्छ । विशेष गरि सप्ताहन्त र भैपरि आउने विदाहरुमा क्रिकेटलाई समय छुट्याउने गरेको छु ।

यहाँ अहिले तपाई कुन क्लबमा आवद्ध हुनुहुन्छ ?
मैले गोर्खाली क्रिकेट क्लब मेलबर्न,द प्रिस्टन हिमालयन क्लब र सगरमाथा क्रिकेट क्लब जस्ता थुप्रै क्लबहरुबाट खेलेको छु ।

अष्ट्रेलियामा खेल्दाको कुनै खास अनुभव ?
मैले अष्ट्रेलियाको इन्टरस्टेट च्याम्पियनसीपमा भिक्टोरियाको प्रतिनिधित्व गर्दै खेलेको छु । त्यतिबेला मैले अर्धशतक हानेको थिएँ । त्यो क्षण मलाई अविस्मरणीय लाग्छ ।

प्रस्तुति : गोपाल सुवेदी

Comments

comments