मेलबर्न । हिमालयन कङ्गारुको नियमित स्तम्भ स्टुडेन्ट टल्कमा यसपटक अष्ट्रेलियाको सिड्नी निवासी नेपाली विद्यार्थी क्रिजन महर्जनसँग रमाइलो कुराकानी गर्दैछौं । ललितपुर,पाटनका महर्जन हाल सिड्नीस्थित चाल्र्स स्टर्ट युनिभर्सिटीमा इन्फोरमेसन टेक्नोलोजीमा ब्याचलर गर्दैछन् । प्रस्तुत छ उनीसँग गरिएको केही चटपटे र केही गम्भीर कुराकानी

कहाँ पढ्दै हुनुहुन्छ ?

चाल्र्स स्टर्ट युनिभर्सिटीमा अध्ययन गर्दैछु ।

कुन विषय पढ्दै हुनुहुन्छ ?

इन्फोरमेसन टेक्नोलोजीमा ब्याचलर गर्दैछु ।

यो आफूले रोजेको विषय कि परिवारले रोजिदिएको ?

आफैंले रोजेको विषय हूँ ।

विद्यार्थी जीवन किन रमाइलो लाग्छ ?

विभिन्न साथीभाइहरु सबैसँगै हुँदा रमाइलो लाग्नु त स्वभाविकै हो नि ।

विद्यार्थी जीवन किन नरमाइलो ?

काम र पढाइ सँगसँगै लैजानुपर्छ,जुन निकै कठिन छ । कलेज फि तिर्नुपर्छ भनेर मरिमेटेर काम गरिन्छ,काममा व्यस्त भएर उल्टै पढाइ विग्रिन्छ । त्यो सम्झेर नरमाइलो लाग्छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

कलेजमा लभ गर्नु ठीक हो ?

ठीक बेठीक त भन्दिनँ म । उमेर र परिस्थितिमा निर्भर रहने कुरा हो जस्तो लाग्छ मलाई ।

लेक्चर मीठो कि लभ लेटर ?

आफ्नै बारेमा केही राम्रा कुरा सुन्न पाइन्छ । त्यसैले लभ लेटर नै मीठो होला नि ।

कक्षामा कस्तो बेला निदाइन्छ ?

नढाँटी भन्नुपर्दा हरेक कक्षामा निन्द्रा लागिरहन्छ । तर त्यसमाथि झ्याउ लाग्ने विषय र टिचरको कक्षामा बढी निन्द्रा लाग्छ । कहिले काहिं कक्षा खाली भयो भने मज्जाले निदाइन्छ ।

कक्षामै देखेको कुनै मीठो सपना ?

त्यस्तो त कुनै याद छैन ।

अष्ट्रेलियाले जीवनमा के सिकायो ?

स्वाभिमानी हुन सिकायो । साथीभाइको महत्व बुझायो ।

अष्ट्रेलिया आएर सकरात्मक र नकरात्मक पक्ष के के भेट्टाउँनुभयो ?

परिश्रम गरे फल पनि मिठै पाइने रहेछ भन्ने कुरा सिकायो । तर अष्ट्रेलिया आएर केही पैसा कमाएपछि नेपाली दाजुभाइहरुलाई नै हेप्ने जमातहरु देखें । त्यस्ता व्यक्तिहरु देखेर दुख लाग्छ ।

नेपालमा हुँदाको अष्ट्रेलियाप्रतिको सोंच र यहाँ आइसकेपछिको फरक के पाउँनुभयो ?

नेपालमा बसेर सोचेको भन्दा निकै फरक पाएँ । अष्ट्रेलिया जाने भनेपछि दिमागमा इमेज नै ठूला ठूला घर,चिल्ला सफा सडक,रमाइलो र सम्पन्न जीवन भन्ने लाग्थ्यो । तर अष्ट्रेलिया आएपछि त्यही एक छाक भात पनि कहिले खाने भन्ने फुर्सद नै नपाइने रहेछ । नेपालमा हुँदा राति १२ बजे सुतेर दिउँसो १२ बजे उठ्थें । त्यसबीचमा अष्ट्रेलियाकै सपना देख्थें । तर यहाँ त मुस्किलले ६ घण्टा सुत्न पनि पाइदैन ।

अष्ट्रेलियामा नेपाली जीवन कस्तो पाउनुभयो ?

अष्ट्रेलियाको जीवन त रमाइलो नै छ । तर विद्यार्थी जीवन भने अलि गाह्रो छ । वेला वेलामा साथीभाइहरुसँग भेटघाट हुँदा रमाइलो लाग्छ । चाडपर्वको वेलामा घरको अति याद आउँछ ।

अष्ट्रेलियामा आउन चाहनेहरुलाई के सुझाव दिनुहुन्छ ?

अष्ट्रेलियामा यहाँहरुलाई स्वागत छ तर आउनु अगाडि बुझेर मात्र आउँनुहोला ।

प्रस्तुति : गोपाल सुवेदी

Comments

comments