-ईश्वर देबकोटा

=========

आज गाईजात्रा पर्व | शोकमा डुबेकालाई समेत हसाउने पर्व | हरेक वर्ष दोहोरिएर आउने यो पर्वले सधै हाँसो मात्रै पनि बोकेर न आउँदो रहेछ |  अहिले नेपाली सिने जगत यहि गाइजात्राको पुर्व सन्ध्या देखि अकल्पनीय  शोकमा डुबेको  छ | आम दर्शक श्रोतालाई पेटमिचीमिची हसाउने कलाकारहरुका आँखामा झल्झली स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको फुर्तिलो नाच अदृश्य दर्पण बनेर छाएको छ | बलिन्द्र धारा आँसुले आफन्त र प्रियजनको आँखा ओबएको छैन | भारतको एपोलो अस्पतालबाट उनको प्राण विहिन शरीर प्रिय दर्शक र प्रशंसकलाई  अन्तिम पटक देखाउन एक महिना अघि मात्रै बिबाह बन्धनमा बाँधिएकी  नायिका एवम् श्रीकी जीवन संगिनी स्वेता कठोर हृदय बोकेर केहि बेरमा सधैका लागि अन्धकार बनेको उही शहर काठमाण्डौ उत्रिदै छिन् | परिवारकी जेष्ठ सदस्य श्रीकृष्णकी आमा जगतकुमारी श्रेष्ठलाई आफ्नो प्रिय छोराले संसार छाडेको खबर कसैले दिन पनि सकेका छैनन्  । ८२ बर्षिय आमाले  कान्छो छोरो श्रीको पार्थिव शरीरमा कुन हिम्मतले श्रद्धाञ्जली चढाउने छिन् , कल्पना गर्दैमा पनि मुटु भक्कानिएर आउँछ | सन्चार माध्यमभरि श्री कृष्णका पुराना अन्तर्वार्ता , उनले अभिनय गरेका चलचित्रका गीतहरु बजिरहेका छन् | चोक, चिया पसल, सार्वजनिक सवारी साधन, स्कुले बालबालिका, वृद्धवृद्धा सबैका ओठमा श्री को गुनगान झुन्डिएको छ | नेपाली सिनेनगरीमा श्रीको निकट रहेर बर्षौ देखि काम गरेका पुराना कलाकारहरु, अभिनेता, अभिनेत्रीहरु चलचित्र निर्देशक र अन्य सम्बद्द व्यक्तित्वहरुका हरेकका सम्झनामा उनि आँशु बनेर बगिरहेका छन् | भक्कानिएका आवाजमा आफ्ना समबेदानाका शब्दहरु साट्ने कोशिसमा छन् उनीहरु |

श्रीकृष्णको देहावसानले शोक मग्न बनेको छ  नेपाली कला क्षेत्र | अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको शोकमा नेपाल प्रज्ञा प्रतिष्ठनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ। प्रतिष्ठानका निकै पुराना कर्मचारी समेत रहेका श्रेष्ठको निधनले मर्महात भएको भन्दै एकेडेमीले आइतबारका सम्पूर्ण कार्यक्रमलाई स्थगित गरेको हो। अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनमा पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन्। पूर्वराजा शाहले अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनले नेपाललाई अपुरणिय क्षति भएको भन्दै असमायिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै मर्माहित भएको बताएका छन्।

सामाजिक सन्जाल फेसबुक र ट्वीटरका हरफहरु श्री प्रतिको श्रदान्जली, परिवार र आफन्तजान प्रतिको समबेदनाले भरिएको छ | अनलाइन समाचारक पृष्ठहरुमा उनका तस्विर अडियो र भिडियो सामग्री समेतका सन्दर्भ सामाग्रीहरु अटुट रुपमा प्रकाशन भैरहेका छन् | श्रीले आफ्ना फ्यानहरुका डायरीमा दिएका अटोग्राफ समेत फेसबुकका भित्ताहरुमा उनको सम्झनाका सामग्री बनेर बसेका छन् | सुटिंगका क्रमम उनि संगै बसेका दर्शकहरु, दर्शक संग बसेर आफ्नै चलचित्र हेर्दाको तस्विरहरु निरन्तर सामाजिक संजालमा अपलोड भैरहेका छन् | केहि बर्ष अघि गाईजात्रामा सहभागी हुँदै गरेका श्रीको यो तस्विर ब्लगर एबं पत्रकार उमेश श्रेष्ठली आफ्नो ट्वीटरमा राखेका छन् |

Buu3ipsIIAAA-3y

 

हरेक बर्ष गाइजात्रको अवसरमा आयोजना गरिने हास्यव्यङ्ग्य कार्यक्रममा यसपटक यो अकल्पनीय शोकले निकै असहज बनाएको छ | गाईजात्राको पुर्व सन्ध्यामा श्रीको निधनले आँसु न ओबाएको आँखा लिएर मन गह्रुङ्गो पार्दै दर्शक हसाउन जवरजस्ती स्टेजमा उत्रनु परेको छ श्री सँग हरबखत निकट रहने कलाकारहरु भन्छन् |सबैका मन मुटुमा बस्न सफल आफ्नो जीवनकालमा कुनै विवादमा मुछिएनन् | चलचित्रमा मात्र नभई प्रत्यक्ष रंगमञ्चमा समेत उनको नृत्य प्रतिभा हेरेरे रमाउने दर्शकले श्रीको फुर्तिलो स्वाभाविक नृत्य कला कसरी बिर्सन सक्छन् र |बोलीचालीमा मधुरबचन मात्र बोल्ने श्री ले कसैलाई ठुलो स्वर गरेनन् |हास्यव्यंग्यमा समेत उत्तिकै रमाउने श्री ले गाइजात्राका अवसरमा आयोजना भएका स्टेज कार्यक्रमहरुमा प्यारोडी नृत्य गरेर दर्शक हँसाएका छन् |

त्यसो त उनले अभिनय गरेका सय भन्दा अधिक सिनेमामा उनका हास्य प्रधान चरित्र उत्तिकै लोकप्रिय छन् | बि.सं.५० को दशकमा नेपाली सिनेनगरीमा अटुट अभिनय पस्किएका श्री पटक पटक अभिनयकै शिलशिलामा दुर्घटनामा परे | कहिले आँखा त कहिले खुट्टामा गम्भीर चोट लागे पनि दर्शकले थाहा नपाउने गरि उनि आफ्नो समस्यालाई सुल्झ्याएर अरुका सामु चाहिँ मुस्कुराउँदै आइपुग्थे |

गएको दशकमा श्रीलाई स्वास्थ्यले साथ दिन सकेन | उपचारको शिलशिलामा नै उनले आफ्नो अभिनय यात्रामा कम भन्दा कम सहभागी हुन थाले | तर उनले जीवनको अन्तिम क्षण सम्म आइपुग्दा समेत पनि शारीरिक अशक्ततालाई गुपचुप राखेर दर्शक सँगको नाता तोड्न चाहेनन् | श्रीले एक अन्तर्वार्ताको क्रममा खुलेरै भनेका थिए ” मेरो लाश दर्शकको दैलो आगाडीबाट गएको दिन मात्र म टाढा हुनेछु |” श्रीको यो भनाई सम्झिरहँदा आम नेपाली सिने नागरिका निम्ति उनले अथाह चलचित्र सामग्रीहरु छाडेर गएका छन् जो सदाका लागि श्री कृष्णले जिम्मा लगाएर गएको सम्पति हो, जसमा लाखौ दर्शक र श्री बीचको अमुल्य माया जोडिएको छ | उनको पछिल्लो चलचित्र “कोहिनुर” सिनेमा हलमा दर्शक तानिरहेको छ | आज नेपाली सिने नगरीका विशुद्ध “कोहिनुर” श्री लाई भने अन्तिम श्रद्धाञ्जली सहित नगर परिक्रमा राजधानी काठमाण्डौको पावन पाशुपत क्षेत्र आर्यघाटमा भौतिक रुपमा सदाका लागि विदा गरिदै छ | हार्दिक शब्द श्रदान्जली स्वर्गीय श्रीकृष्ण श्रेष्ठमा |

 

Please follow and like us:

Comments