–लक्ष्मण गौतम ।

“जननी जन्मभुमिश्च स्वर्गदपी गरीयसी “

आफ्नो जीवनको आधा भन्दा बढी समय ( १८ बर्ष ) बसेको देश बेलायत छाडेर आफ्नै जन्मभूमि नेपाल फर्किने निर्णय गरियो ! निर्णय सही वा गलत त्यो समयले नै बताउला तर यो मन यहाँको झिलीमिली , सुख , सुविधामा भुल्न सकेन । यो मन आज पनि त्यही धुलो,माटो,राजनीतिक अस्थिरता ,लोडसेडिङ्,भ्रष्ट्र नेता र घुसखोरी कर्मचारीतन्त्र भएको देश नै खोजिरहन्छ !

किनभने यहाँ बेलायतमा लाईफ होला
त्यहाँ नेपालमा जीवन छ
यहाँ सुख सुबिधा होला
त्यहाँ सन्तोष छ
यहाँ पैसा होला
त्यहाँ अभावमा पनि खुशी छ
यहाँ मनभित्र सधैभरि अर्काको देश भन्ने भावना होला
त्यहाँ खुट्टा मुनि आफ्नै देशको माटो छ
यहाँ १० बर्ष धेरै बाँचिएला
त्यहाँ कमै बाँचे पनि आनन्द छ
किनकी यो देश अर्काको हो
र,त्यो देश मेरो हो !

मलाई आरोप लगाउनेहरुले बिभिन्न आरोप लगाउन सक्लान् तर नेपाल फर्किनुमा मेरो देशप्रेम बाहेक अर्को कुनै स्वार्थ छैन । १ पाईला अगाडि बढ्दा १० पाईला पछाडि तान्ने जमात भएको देश नेपालमा मेरो भोलि चुनौतिपूर्ण छ तर ती चुनौतिहरु संग डटेर सामना गर्ने मसंग आत्मविश्वास छ,आत्मबल छ !

आशा गरौ ! म निराश भएर,थकित भएर भोलि फेरि बेलायत नै फर्किनुपर्ने अवस्था आउने छैन । आशा गरांै मेरो वरिपरि भएका ब्यक्ति,नेपाली समाज र सिंगो देशले मलाई नेपालमै स्थापित हुन सहयोग गर्ने छ !

म अहिले उमेरले ३६ बर्षको भएँ । आज भन्दा १८ बर्ष पहिला म नेपाली जहाज चढेर पहिलो पटक बेलायत आएको थिएँ । उति बेला नेपाली ध्वजाबाहक जहाज युरोपसम्म आउँथ्यो तर अहिले स्थिति अर्कै छ । बेलायतमा नियम छ, कानुन छ, सुखसुबिधा सबै छ । त्यसैले जीवन आनन्दमय पनि छ । मेरो कुरा गर्दा म आफ्नो नेपालमा भएको सम्पति बेचेर बेलायतमा ८–१० वटा घर किनेर भाडामा लगाएर कामै नगरिकन मज्जाले बस्न सक्छु तर मलाई यसो गर्न पटक्कै मन छैन । मलाई यहाँको सुख सुबिधा, झिलिमिली भन्दा नेपालको धुलो,माटो र अन्धकार नै प्यारो छ । नेपालमा भएको प्रदुषण र खानपानमा मिसावटका कारणले बेलायतमा भन्दा नेपालमा १० बर्ष छिटो मरिन्छ । तैपनि मलाई नेपाल नै प्यारो लाग्छ । युरोप, अमेरिकाबाट प्राय मानिसहरु उमेरले बुढो भए पछि र छोरा छोरीलाई सेटल बनाए पछि नेपाल फर्कन्छन् तर म उमेरले बुढो भएको पनि छैन । अनि मैले मेरा छोरा छोरीलाई सेटल बनाएको पनि छैन । तैपनि म एउटी ५ बर्ष र अर्की १ बर्षकी छोरी च्यापेर नेपाल फर्कदै छु ।

मान्छे जन्मन्छ र मर्छ,यो सृष्टिको नियम हो तर सबै भन्दा ठुलो कुरा आफ्नो देश,आफ्नो समाज र आफू जन्मेको माटो हो । म बेलायत आउदा मेरो उमेर अलि सानो थियो , म देश र राष्ट्रियता भनेको बुझ्थेन तर आज म उमेरले परिपक्क भएको छु । देश र राष्ट्रियता के हो म बुझ्न सक्छु । सबै भन्दा ठुलो कुरा म भित्र जे गरे पनि आफ्नै देशमा नै गर्नुपर्छ भन्ने भावना जागृत भएर आएको छ ।

सबै युवाहरु बिदेशिए,बूढा नेताले नेपाल बर्बाद पारे, यो कटु सत्य हो । तर नेपाल हाम्रो हो र नेपाल हामीले नै बनाउनुपर्छ । नेपालमा सम्भावना छ र नेपाल बनाउन सकिन्छ तर पैसा कमाउने होईन देश बनाउने भावनाका साथ राजनीतिमा लाग्ने हो भने नेपाल बन्छ । पर्यटन , कृषि , हाईड्रो पावर , खनिज आदिमा सरकारले ईमान्दारिताका साथ लगानी लगाउँछ र काम गर्छ भने नेपाल बन्छ तर सबै भन्दा पहिला जनता सचेत हुनुपर्यो । नेपालको राष्ट्रिय एकता मजबुत नभईकन नेपाल बन्दैन । संघीयताले हाम्रो राष्ट्रिय एकतालाई खलल पुराउने काम मात्र गरेको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here

twgg-advertise

त्यसैले हामी सबैले संघीयताको नकरात्मक प्रभावका बारेमा जनता र नेतालाई समेत बुझाउँन खाँचो छ । सरकार ढाल्ने र बनाउने यो संसदीय प्रणाली नेपालमा असफल साबित भैसकेको अवस्था छ । त्यसैले अब हामी सबैले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आवाज उठाउनुपर्ने बेला आएको छ ।

देशका लागि केहि गरांै भन्ने मानिस नेपालमा टिक्नै सक्दैन,टिक्न नै दिदैनन् ! नेपालमा सत्य बोल्दा ज्यान मार्ने धम्की आउछ , राम्रो काम गर्न खोज्दा खुट्टा तान्छन भने । चोर,फटाहा र डाकाहरुको उस्तै हाली मुहाली छ ! नेपालबाट पढेलेखेका डाक्टर,ईञ्जिनियरहरु बिकसित मुलुकको पिआर लिएर हिड्ने क्रम बढ्दो छ भने सरकारलाई यसप्रति कुनै चासो छैन,यो हाम्रो दुर्भाग्यपूर्ण अवस्था हो !

बिकसित मुलुकमा जानु,पढ्नु,सिक्नु र पैसा कमाउनु चाहि नराम्रो होईन तर उमेर छदै आफ्नै देश फर्कनुपर्छ र आफूले देखेको,सिकेको र कमाएको कुरा देशमै खर्चिनु पर्छ भन्ने मेरो मान्यता हो !

त्यसैले म बेलायत त्यागेर नेपाल फर्किदै छु, नेपालको लागि म एउटा लक्ष्मण गौतम ठूलो कुरा होईन तर यदि म नेपालको वातावरणमा भिजेर नेपालमै बस्न सके भने त्यसले अवश्य पनि बिदेशमा बिदेशी नागरिकता लिएर बसेका लाखौ युवालाई नेपाल फर्किन उत्प्रेरित गर्ने छ तर यदि म नेपालमा टिक्न सकिनँ र फेरी विदेश नै हिड्न पर्यो भने मेरो कथा पढेका साथीहरु नेपाल फर्किनेबारे सयपटक सोच्न बाध्य हुने छन ।

पहाडको मान्छे तराई वा तराईको मान्छे पहाड गएर त बस्न सक्दैन भने २०औ बर्ष बेलायत , अमेरिका जस्ता बिकसित देशमा बसेको मान्छे नेपालमा गएर बस्न तेती सजिलो छैन ! नेपालमा शुसासन , सुबिधा , वातावरण , स्वास्थ्य जस्ता कुराहरुले दैनिकी सकसपूर्ण बनाउछ ! नेपालमा १ पाईला हिड्दा १० पाईला पछाडी तान्न खोज्नेहरु को जमान छ , राम्रो गर्न खोज्दा बिरोध गर्नेहरु को ताती नै छ ! सबै सक्षम युवा बिकसित मुलुक को पिआर लिएर हिड्ने हो भने देश कसले बनाउने ? ठुलो आट गरेर नेपाल फर्कने युवाहरु लाई नेपालमा टिक्न नदिने , अवसर नदिने हो भने फेरी भोली बिदेशी पिआर त्यागेर नेपाल को फर्कने ?

ईमान्दारिताका साथ भन्नु पर्दा मैले बेलायतमा १८ बर्ष बसेको, सेटल भैसकेको ३६ बर्षको युवा बेलायत छाडेर नेपाल फर्केको देखेको र सुनेको छैन । म यसै लेख मार्फत अमेरिका , अष्ट्रेलिया,क्यानडा वा अन्य मुलुकमा बस्ने सबै युवालाई नेपाल फर्कन आग्रह गर्न चाहन्छु । किनकि नेपाल हाम्रो हो, देश हामीले नबनाए कसले बनाउने ? अब पनि नबनाए कहिले बनाउने ?

Comments

comments