–प्रमोद आचार्य,पर्थ-अष्ट्रेलिया

अष्ट्रेलिया अहिले धेरैको सपनाको देश हो । त्यस्तो सपना देख्नेमा म पनि एक थिएँ । त्यही सपना पूरा गर्न काठमाडौंका कन्सल्ट्यान्सीहरुमा धाउँन थालें । बुझ्दै जाँदा पुतलीसडकस्थित एक कन्सल्ट्यान्सीमा पुगें । उहाँहरुको कुरा सुन्दा यस्तो लाग्यो भोलि नै अष्ट्रेलिया उडिहालूँ । कुरा पनि उनीहरुको यस्तै थियो–मानौं अष्ट्रेलिया भोलि नै उडाइदिनेछन् । म उनीहरुको कुरामा हो मा हो थप्दै गएँ । उनीहरुका मीठा कुरा र सपनाले मलाई माहेनी लगाए जस्तै भयो । त्यसैले कसरी हुन्छ,जसरी भए पनि अष्ट्रेलिया उड्ने हुटहुटी चल्न थाल्यो ।

अब त मेरो मन मष्तिस्कमै अष्ट्रेलिया पसिसकेको थियो । अझ साथीहरुको फेसबुकभरि अष्ट्रेलियामा खिचिएका वैभावपूर्ण फोटोहरुले भोलि नै उड्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यसैले अफर लेटर आएपछि कन्सल्ट्यान्सीको शुल्क तिर्ने शर्तमा डकुमेन्टस् बुझाएँ । अनि प्रोसेसिङ शुरु भयो । नभन्दै ५–६ महिनापछि मेरो सिओई आयो । अनि भिसाका लागि आवेदन दिएँ । त्यसको ४ महिनापछि त भिसा नै पो आयो ।

त्यो एक वर्षको बीचमा कन्सल्ट्यान्सी यति गइन्थ्यो कि कुन घर कहाँनिर पर्छ,त्यसको झ्याल कतातिर फर्र्किको छ ? भन्नेसम्म याद हुन्थ्यो । अनि भिसा नलागुञ्जेल रातभरि निन्द्र लाग्दैनथ्यो । त्यसैले भिसा लागेको दिन लाग्यो,अब मेरो पनि भाग्य चम्कियो । यस्तो खुशी त जिन्दगीमा पहिले कहिल्यै लागेको थिएन । आखिर एउटा सपना पूरा हुँदथ्यो । त्यसैले खुशी लाग्नु स्वभाविक पनि थियो । भिसा लागेपछि बाबा आमा पनि खुशी हुनुभयो । भन्दै हुनुहुन्थ्यो उहाँहरुको मिहिनेत खेर गएन भनेर ।

आखिरीमा अष्ट्रेलिया उड्ने दिन आयो । घरबाट विदा लिएँ । सबैको आशीर्वाद,स्नेह र जन्मभूमिको मायालाई ३५ केजीको ब्यागमा पोको पारेर म एयरपोर्ट पुगें । एयरपोर्टसम्म पुर्याउँन आउनुभएका आमा विदाइमा बेस्सरी रुनुभयो । आमाको त्यो ममतापूर्ण रुवाइले मेरो एकछिन अघिसम्मको उत्साह पखालिदियो । आमाको आँसु देखेर खै किन हो डर लाग्यो । मैले आमालाई अँगालो मारें तर पनि उहाँको रुवाई थामिएन । आमालाई सम्झाएँ र बुझाएँ । किनभने आखिरमा मलाई जानु नै थियो ।

विदा भएर म विमानभित्र छिर्ने स्थानतर्फ लागें । चेकजाँच सबै सकाएर भित्र प्रतीक्षा कक्षमा गएर बसें । फेसबुक खोलेर अहिले चलेको चलन अनुसार ट्राभलिङ टु अष्ट्रेलिया भन्ने स्टाटस पोष्ट गरें । यसरी अरुलाई देखाउन र सुनाउन पाउँदा मनमा साँच्चिकै ठूलो मान्छे भएको अभिमान जाग्यो ।
केहीबेरमा प्लेनको एनाउन्समेन्ट आयो । सबैजना प्लेनतर्फ लाग्न थाले । म पनि प्लेन चढ्न सिढी उक्लन थालें । त्यतिखेर भने खै किन हो मन सिरिङ्ग भयो । तैपनि मन सम्हालेर भित्र छिरें ।

प्लेन उड्यो । सँगै मेरा सपना र रहरहरु पनि त्यो उडिरहेको प्लेन जसरी नै उडिरहे । भोलिपल्ट अष्ट्रेलियाको पर्थ विमानस्थलमा विमान ल्याण्ड गर्यो । मैले समातेको गन्तव्य पनि त्यही थियो । जाडो महिनाको विहानीपख थियो । मैले प्लेनको झ्यालको शीशाबाटै पहिलोपटक अष्ट्रेलियालाई नियालें । चार।ैतिरको दृश्य मलाई नेपाल भन्दा फरक लागेन । उही डाँडाकाँडा,उस्तै उस्तै घरहरु अनि उस्तै मौसम ।

मनमा के के सोच्दै प्लेनबाट ओर्लिएँ । चिनेजानेका कोही थिएनन् । सिर्फ बस्ने ठाउँको ठेगानाको पुर्जी लिएर आएको थिएँ । ट्याक्सी लिएर गएँ त्यही ठेगाना पछ्याउँदै । कोेठामा पुगेर आमालाई पहिलो कल गरें । त्यही दिनबाट शुरु भयो मेरो सपनाको देशको यात्रा ।

दिन वित्दै गयो । म बसेको घरमा कोही पनि नहुने रहेछ । सबैजना व्यस्त । मैले खाए नि नखाए नि खाउ भनेर औपचारिकता देखाउनेसम्म कोही थिएनन् । केही दिन आमाले पठाइदिनुभएको चाउचाउ खाएर भोक मेटाएँ । अब काम नखोजी सुख थिएन । काम खोज्न यहाँ अनलाइनबाट आवेदन दिनुपर्ने रहेछ । कहि कहिं चाहिं सीधै रिज्युम दिदा पनि हुने रहेछ । त्यसैले हातमा रिज्युम बोकेर कामको खोजीमा दिनभरि हिड्थें । जहाँ रेष्टुराँ देखियो त्यहाँ गएर काम माग्न थालें ।

३–४ दिन यसैगरि वित्यो । एकदिन एउटा रेष्टुराँ म्यानेजरलाई भेटें । भाग्यले त्यहाँ किचेन ह्याण्डको काम खालि रहेछ । भोलिदेखि नै आएर काम सिक्न भने । अलि अलि भए पनि आश जाग्यो मनमा ।

भोलिपल्ट भनेकै समयमा रेष्टुराँ पुगें । म सबै रातो कपडा लगाएर गएको थिएँ । तर रेष्टुराँका म्यानेजरले भोलिदेखि कालो कपडा लगाएर आउने शर्तमा काम शुरु गर्न लगायो । पहिलो गाँसमे ढुङ्गा भने जस्तै काम शुरु गर्न नपाउँदै गाली खाएर नरमाइलो लाग्यो । घरमा आमालाई घुर्की लगाएको याद आयो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseकाम शुरु भयो । यहाँ किचेन ह्याण्ड भनेको भाँडा माझ्ने काम रहेछ । मेशीन त हुने रहेछ तर मेशीनभन्दा पनि आफू छिटो हुनुपर्ने । दिनभरि भाँडा माझें । कहिल्यै त्यस्तो काम नगरेको मान्छे हात त दुख्ने नै भयो,ढाड त अझ भाँच्चिए जस्तै भयो । रेष्टुराँ बन्द भएपछि आधारातम हिडेर कोठामा पुगें । अष्ट्रेलियाको वैभवपूर्ण जीवनशैलीलाई अलिकति भए पनि बुझें ।

दिनहरु वित्दै गए । तर अष्ट्रेलियामा मेरा लागि दुखहरु झन झन थपिदै गए । म त सुख खोज्न आएको मान्छे,उल्टै दुखको भूमरीमा परेको जस्तो लाग्यो । विहान सबेरै कलेज जानुपर्ने अनि राति १२ बजेसम्म कामको चटारो । निन्द्र पुग्नेगरि सुत्न त नपाउँने देशमा सपना त झन् परको कुरा रहेछ । त्समाथि शुर शुरुमा अष्ट्रेलियनले बोलेको केही बुझ्दिन थिएँ । त्यसैले भाषाको पनि केही समस्या भयो । घरबाट फोन आउँथ्यो । सबै ठीक छ भनिदिन्थें ।

फेरि अर्को ठाउँमा क्लिनिङको काम पाएँ । यसबीचमा यहाँ कुनै काम सानो ठूलो छैन भन्ने बुझिसकेको थिएँ । त्यसैले अब काम गर्दा कुनै हीनताबोध हुँदैन थियो बरु खुशी लाग्थ्यो ।

बेला बेलामा नेपालबाट भाइको फोन आउँथ्यो र सोध्थ्यो–काम पाइस् ? कति कमाउँछस् ? फोन त आइफोन नै लिइस होला नि । यी प्रश्नहरुको उत्तर भएर पनि म हाँसेर टारिदिन्थें । किनभने आफ्नो पीडा आफैंसँग थियो ।

हो मसँग आइफोन त थियो तर भाडा माझ्दा माझ्दा छिया छिया परेको हातले टच स्क्रीन चलाउँदा त्यही पनि कोरिन थालेको थियो । पैसा पनि आउँथ्यो तर रेन्ट,कलेज फि तिर्न पनि नपुग्ने ।

अष्ट्रेलियामा त कोही आफ्ना नहुने रहेछन् । केही गरि विरामी भएर ढल्यो भने तातोपानी तताएर खुवाउनेसम्म कोही नहुने रहेछ । किनभने समयको रफ्तारसँग चल्न बाध्य रहेछन् । साँच्चिकै सोचेको र भोगेको अष्ट्रेलियामा आकाश जमिनको फरक रहेछ । नेपाली अहंकार पनि यहाँ नचल्ने रहेछ । त्यसैले त अष्ट्रेलियन साहुजी कराउँदा रहेछन्– “put your attitude with you and I will keep my job with me”।

३–४ महिनापछि एउटा सपिङ मलमा काम पाएँ । अझैं त्यही काम गर्दैछु । अब काम गर्न दुखको अनुभव हुँदैन । किनकि त्यही कामले नै रहेछ हाम्रा हरेक आवश्यकताहरु पुरा गर्ने,अनि हाम्रा सपनाहरु पूरा गराउने पनि त्यही काम रहेछ । तर त्यही कामको पछि दौडिदा दौडिदै हाम्रा सपनाहरुले कतिखेर हामीलाई छोडेर जाँदा रहेछन् ।

म सोच्थें अष्ट्रेलियामा आउने हरेक नेपालीको दुख मेरै जस्तो होला । उनीहरुका पनि समस्या मैले भोगे जस्तै होला । तर यहाँ केही टुप्पोबाट पलाएका नेपालीहरु पनि भेटें । आफू अलिकति माथि पुगेपछि दुख पाएका अर्को नेपालीलाई सहयोग गर्नुको साटो उल्टै हेप्ने । अझ भन्नुपर्दा अष्ट्रेलियामा शत्रु खोज्न पर जानै नपर्ने रहेछ,आफ्नै मित्र समेत यहाँ आएपछि शत्रु बन्दा रहेछन् । त्यसैले आफ्नो दुख र पीडा अरु नेपालीलाई सकभर नसुनाएकै राम्रो रहेछ ।

अनि कहिलेकाही सोच्छु,यहाँ हामीले गर्ने जस्तै काम नेपाल गरे कति विकास हुन्थ्यो होला । तर पनि हामी त्यही भाडा माझ्न,ट्वाइलेट,घरपसल सफा गर्न,खाना पकाउन त्यति धेरै पैसा खर्चेर अर्काको मुलुकमा आउँन मरिहत्ते गर्छौ ? यहाँ गर्ने काम नेपालमा गरे हुन्न र ? उत्तर पनि आफैंभित्र पाइन्छ । यी सबै व्यवस्थाका कारण हो अनि हाम्रो मानसिकता पनि यसमा दोषी छ । किनभने सबै काम बराबर भन्ने बुझाउँन हाम्रो सरकारको व्यवस्थाले सकेको छैन ।

त्यसैले अन्त्यमा अष्ट्रेलियामा आउन चाहने साथीहरु आउदा अब बुझेर मात्र आउनुहोस् । आफ्नो नेपालमा त त्यति गाह्रो छ झन् यो त अर्काको मुलुक,सबै विराना,भाषा र संस्कृति र जीवनशैली केही मिल्दैन भने यहाँ एडजस्ट हुन कति गाह्रो होला,अनुमान गरेर आउनुहोला । सपना र रहरको पछि लागेर त आउँदै नआउँनुहोला । किनभने छरिएका सपनाहरु अष्ट्रेलियामा पाइला टेकेकै क्षणदेखि पोखिन्छन् । त्यसलाई टिप्ने अवसर समेत दिदैन अष्ट्रेलियाले ।

अर्को कुरा अष्ट्रेलिया आएपछि पनि रहरले गुलामी बनाउन कसैलाई बाँकी राख्दैन । त्यसैले यहाँ पनि उही रहरकै पछि दौडिरहेको पाउँछु । कसैको पढाइ पूरा गर्ने रहर,कसैको पीआर पाउने रहर त कसैको घर किन्ने रहर । त्यही रहर पूरा गर्न आफ्ना जिन्दगीका वास्तविक सबै रहर भने बन्धकमा राख्न बाध्य छन् ।

Comments

comments