काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनको प्रचारप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कसैसंग गरिएको कबुलियतनामा पूरा गर्न संसिवधान संशोधन हुन नसक्ने एमालेको अडान छ । एमालेले संविधान कार्यन्वयनका लागि चार महिने जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । केन्द्रीय कमिटीको निर्णयवारे पत्रकार सम्मलेनमार्फत जानकारी गराउदै एमालेले संविधान संशोधनको औचित्य नरहेको ठहर गरेको हो । प्रतिपक्ष दलसँग छलफल नै नगरी संशोधनको विषय ल्याएको भन्दै एमालेले सरकार निर्माणका क्रममा गरिएको कवुलियतनामा पूरा गर्न संविधान संशोधन नहुने प्रष्ट पारेको हो ।

यसैगरी, एमालेले संविधान कार्यन्वयनका लागि दवाब दिने उद्देश्यले चार महिने जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ । एमालेले कात्तिकदेखि माघसम्म चल्ने अभियानको अन्त्यमा सात प्रदेशमा जनसभा समेत गर्ने निर्णय गरेको छ ।

प्रदेश नम्बर १ को बिराटनगर, २ को जनकपुर, ३ को काठमाडौं, ४ को पोखरा, ५ को बुटवल र नेपालगञ्ज, ६ को सुर्खेत र प्रदेश नम्बर ७ को धनगढीमा जनसभा गर्ने तय भएको एमालेले जनाएको छ ।

६ दिनसम्म चलेको एमालेको केन्द्रीय कमिटीले १६ वुँदे विशेष प्रस्ताव पारित गरेको हो ।

Comments