10592139_927109370649226_751354092_n

-बसन्त राज सिग्देल,
कोहलपुर बाँके

===============================================================

नरेन्द्र मोदीको मायावी छविको प्रभावमा झुमेका नेपाली उक्त तन्द्राबाट विउँझन नपाउँदै फेरी एक चरि को मृत्युमा रङ्मगिदै छ । करिव २ हप्तासम्म “मोदीमय” भएको मेरो देश हिजो आज “चरीमय” भएको छ । नेपाल एउटा सार्वभौम मुलुक हो भनिदिदाँ हाम्रा सभासद्हरु मोदीबाट ब्रम्हज्ञान पाए सरि टेवल ठटाउँछन् । गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने शास्वत सत्यलाई मोदीले बोलिदिदाँ हामी नेपाली त्यसै फुरुङ्ग हुन्छौ । एउटा कुख्यात व्यक्तिको मृत्युमा सन्चार  जगत¸सडक देखि सदन सम्म यसै गरि एकोहोरिरहेको देख्दा यस्तो लाग्छ मुलुकमा चर्चा गर्ने अन्य विषयनै छैन । दिनेश अधिकारी उर्फ “चरी”¸आम सरोकार प्रति चासो राख्ने नेपालीहरुको लागि त एउटा परिचित कुख्यात नाम थियो भने उसको शिकार हुनेहरुको त आफ्नै बेग्लै कथा होलान् । उनै ‘चरी’ काठमाण्डौको भिमढुगांमा प्रहरी कारवाहीमा मारिए पछि त्यसको प्रतिरोधमा सिंगो एमालेले सदन देखि सडक सम्म हंगामा मच्चाईरहेको छ ।

सदनमा एमालेकै उपाध्यक्ष रहेका मुलुकको गृहमन्त्री बामदेव गौतमले २०६२ सालदेखि विभिन्न जघन्य आपराधिक गतिविधिमा संलग्न चरीले प्रहरीमाथि गोली चलाएको कारण प्रहरीले प्रतिरक्षाको लागि गोली चलाउँदा मारिएको र उ प्रहरीको  ( Most Wanted )सूचिमा रही उसका दर्जनौ घन्य अपराधका आरोपहरको फेहरिस्त पढिरहँदा एमालेकै सभासद् राजेन्द्र पाण्डेले सदनमा अमर्यादित ढंगले चरीको पक्षपोषणको लागि समग्र प्रहरी संगठनमाथि नै शसंय व्यक्त गरेका छन् । प्रहरीले नियोजित ढंगले अन्यत्रै हत्या गरि भिमढुगांमा लगेर ईन्काउन्टरको नाटक गरेको भनि गंभिर आरोप लगाएका छन् । एमाले अध्यक्ष स्वयंले यस्तै आरोप लगाएर समग्र प्रहरी संगठनलाई वद्नाम गर्न कोशिस गर्दैछन् । यसबाट प्रष्ट हुन्छ मुलुकको दोस्रो ठूलो दल बन्न सफल ने क पा ए मा ले र त्यसको नेतृत्वको सामाजिक सास्कृतिक र राजनैतिक चेत कुन स्तरको रहेछ । मुलुकको स्थापित संस्था जसको राजनैतिक मूल नेतृत्व सोही पार्टीका उपाध्यक्षले गरिरहेको छ ¸त्यस्तो प्रहरी संस्थालाई अपराधिहरुका अगाडी निरिह देखाउन खोज्दै कमजोर पार्ने गतिविधिले एमाले के चाहन्छ भन्ने प्रश्न स्वत उब्जेको छ ।

बहुदलिय जनवादको सट्टा बाहुवलिय डनवाद पार्टीमा हावि हुँदै गईरहेको तथ्यलाई नवौ महाधिवेशनमा कार्यकर्ताले चर्को ढंगले उठाएको ¸ मुल नेतृत्वले यस्तै आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको आडमा जायज आवाजलाई दबाउँन सफल भएको थियो । निश्चय पनि कुनै व्यक्ति मारिनु शुखद खवर होईन तर एउटा कुख्यात व्यक्ति समाजमा नरहनुले समाजमा सकारात्मक परिणाम आँउन सक्छ भन्ने पक्षलाई मान्न सकिन्छ ।

चरी जस्ता एक युवा यसरी मारिनुमा जिम्मेवार को हो ? के उनलाई राजनैतिक संरक्षण प्रदान गरि अपराध कर्ममा मनोवल बढाउँन भूमिका खेल्ने एमाले नेतृत्व यसमा जिम्मेवार छैन र ? २०६४ साल देखि प्रहरीको Most Wanted सूँचीमा रहेका ¸ विगतमा गंभिर अपराधमा ५ पटक सम्म पक्राउ परेका उनलाई राजनैतिक संरक्षणमा उन्मुक्ति नदिईएको भए शायद आज उनी यसरी मारिनु पर्ने अवस्था आउने थिएन । कानून अनुसार कारवाही गरिएको भए आज उनि सजाय भुक्तान गरि असल नागरिक बनिसकेका हुने थए सायद । यस तर्फ विचारै नगरि एकोहोरो ढंगले अपराधिको पक्षपोषणमा बन्द जस्तो कार्य गरिनु र व्यवस्थापिका संसदमा होहल्ला मच्चाईनुले अपराधको राजनितिकरण गरि समग्र राजनितिलाई नै अपराधिकरण गर्ने तर्फ उद्दत एमालेको गतिविधिले दुनियाँलाई लज्जित बनाएको छ ।

आफु कहाँ चाकडी गर्न घरमै भेट्न नआएको भनि एउटा कुशल पेशागत दक्षता देखाउन सफल एस एस पि रमेश खरेललाई हटाएर बद्नामी कमाएका बामदेवले फेरि पनि पार्टी नेतृत्वको तुष्टि मेट्न अर्का पुष्कर कार्कीलाई हटाउँने चेष्टा गर्न सक्छन । तर यसरी अन्य अपराधिको मनोवल बढ्ने गरि कर्तव्यनिष्ठ कर्मचारीको तेजोवध हुने गरि गरिने कारवाहीले स्वयं एमालेको राजनैतिक छवि धुमिल हुँदै जानेछ । राजनैतिक कर्म र आपराधिक गतिविधिलाई गोलमटोल नपारी अनुसन्धान कार्यलाई निर्वाध रुपमा अगाडी बढाउँन दिनुनै एमालेजनको हितमा हुनेछ ¸ अन्यथा जनताको आक्रोशको शिकार बन्नु पर्ने दिन छिट्टै नआउला भन्न सकिन्न ।

Comments

comments