काठमाडौं । २०७२ को मदन पुरस्कारबाट रामलाल जोशीको कथा संग्रह ‘ऐना’ पुरस्कृत हुने भएको छ । मदन पुरस्कार गुठीको मंगलवार बसेको साधारण सभा बैठकले कथा संग्रह ऐनालाई पुरस्कार दिने निर्णय गरेको हो ।

२०७२ सालमा प्रकाशित पुस्तकमध्येबाट सर्वोत्कृष्ट ठहर गर्दै ‘ऐना’लाई पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कृत कथाकार रामलाल जोशी मोफसलमा क्रियाशील स्रष्टा हुन् ।

साथै २०७२ को जगदम्बा पुरस्कार भने लीलबहादुर क्षेत्रीलाई प्रदान गर्ने निर्णय गरेको मदन पुरस्कार गुठीले जनाएको छ । क्षेत्री चर्चित उपन्यास बसाइँका लेखक समेत हुन् ।

यस वर्ष गुठीले श्रेष्ठ पुस्तकहरूको सूची प्रकाशित गर्ने परम्परा शुरू गरेको थियो । यस वर्षका सात श्रेष्ठ पुस्तकहरूको सूचीमा भूवनहरि सिग्देलको ‘आमोई’, रामलाल जोशीको ‘ऐना’, निलम कार्की निहारिकाको ‘चीरहरण’, घनश्याम खड्काको ‘निर्वाण’, सरिता तिवारीको ‘प्रश्नहरुको कारखाना’, बुद्धिसागरको ‘फिरफिरे’ र दामोदर पुडासैनी ‘किशोर’ को ‘सिमानाका रंग, सिमानाका तरंग’लाई सामेल गराइएको थियो ।

२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार र नेपाली साहित्य क्षेत्रको प्रतिष्ठित पुरस्कार मानिन्छ । पहिलोपटक वि.सं. २०१३ सालमा हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशीलाई यो पुरस्कार प्रदान गरिएको थियो । यस्तै २०४५ सालमा रानी जगदम्बको निधनपछि उनको सम्झना स्वरूप जगदम्बाश्री पुरस्कार थप गरिएको हो । दुवै पुरस्कारको राशी २–२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार प्रत्येक वर्ष घटस्थापनाको अर्को दिन वितरण गरिन्छ ।

Comments

comments