मेलबर्न । रेडियो मेलम्चीका अध्यक्ष तथा सेभ द चिल्ड्रेन सिन्धुपाल्चोकमा कार्यरत पत्रकार सरोज ढुङ्गानाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए–छक्का पन्जा फिल्म नहेरे सोसाइटीबाट नै बहिस्कृत होला जस्तो भयो । त्यसैले यो झरीमा हलसम्म जाने कस्ट गर्नुपर्यो ।

अनि लगत्तै अर्को स्टटस फेरे– छक्का पन्जा हेरेर छक्क परिएन । औसत फिल्म लाग्यो । म्युजिक सबल पक्ष लाग्यो, क्यामेराले लिएका केही सटहरु राम्रा छन् । कमेडी आर्टिस्टहरुको भिड नै लागेपछि यदाकदा हँसाउनुलाई खासै नौलो मान्न सकिएन ।

पत्रकार ढुङ्गानाको पहिलो स्टटसले नेपाली फिल्मका दर्शकहरुमा अहिले प्रदर्शन भैरहेको फिल्म छक्कापञ्जाको प्रभाव कतिको परेको छ भन्ने दर्शाउँछ । जताततै यही फिल्मकै चर्चा हुने भएपछि फिल्म नहेरेकाहरु ट्वाँ पर्नु अर्थात अनसोसियल ठहरिनु अस्वभाविक पनि होइन । अनि ठूलै अपेक्षा बोकेर गएका दर्शकहरुलाई उधुम नै खुशी पार्न नसकिए पनि छक्कापञ्जाले निराश पनि नपार्ने पत्रकार ढुङ्गानाकै दोस्रो स्टटसले प्रष्ट पार्दछ । शायद यही भएर पनि होला छक्कापञ्जाका आएका समीक्षाहरु पनि औसतमा सकरात्मक नै हुने गरेका छन् ।

यति भएपछि के चाहियो र दर्शकहरुलाई ? फलस्वरुप दर्शकहरु हल हलमा ओइरिए र दोस्रो सातासम्म आइपुग्दा झण्डै पाँच करोडको कलेक्सन गर्न सफल भयो । छक्कापञ्जाको यो कलेक्सन हालसम्मकै नेपाली फिल्मको उच्च कलेक्सन हो । हुन त यसअघि नायक श्रीकृष्णको अन्तिम फिल्म कोहिनुरले ९ करोडको व्यापार गरेको थियो । तर त्यो स्वतन्त्र व्यापार भन्दा सिम्प्याथी अर्थात सम्वेदनाको व्यापार भएकोले छक्कापञ्जाले गरेको व्यापारलाई अलग्गै राख्नु सान्दर्भिक मानिन्छ ।
उपत्यका बाहिरका हलहरुमा समेत लगालग केही दिन हाउसफुल व्यापार गर्ने श्रेय समेत छक्कापञ्जाले पायो ।

यो फिल्मको सफलतासँगै दीपकराज गिरि र दीपाश्री निरौलाको जोडी थप मजबुत देखिएको छ । झण्डै एक दशक सानोपर्दामा एकसाथ दबदबा कायम गर्न सफल यो जोडीले अबका केही वर्ष ठूलो पर्दामा पनि यस्ते प्रभाव जमाउने आँकलन गर्न सकिन्छ । कमेडी कहिल्यै पनि बासी नहुने मान्यताले गर्दा यो जोडीको आत्मविश्वास अझ बलियो हुँदैछ ।

नेपालमा छक्कापञ्जाले ऐतिहासिक व्यापार गरेपछि यसको डिमाण्ड विदेशमा पनि ह्वात्तै बढेको छ । हप्तैजसो कुनै न कुनै फिल्म प्रदर्शन भैरहने अष्ट्रेलियाका दर्शकहरु झन छक्कापञ्जा छुटाएर किन अनसोसियल बन्न सक्छन् र ? त्यसैले अष्ट्रेलियाका विभिन्न शहरमा छक्कापञ्जा प्रदर्शन गर्ने तयारी भैरहेको छ । धेरै शहरहरुमा यस फिल्मको शोहरु तय भैसकेका छन् । अष्ट्रेलियामा पनि छक्कापञ्जाको क्रेज यति धेरै देखिएको छ कि प्रत्येक शहरमा शो संख्या नबढाइ आयोजकले सुख पाउँने देखिन्न ।

मेलबर्नमा समेत छक्कापञ्जाको तीन शो हुने तय भएको छ । नेप्ले इभेनटस्को आयोजनामा स्थानीय चाइना टाउन हलमा हुने छक्कापञ्जको पहिलो शो यही सेप्टेम्वर २६ तारिखमा हुँदैछ । त्यस लगत्तै अर्को शो नोभा सिनेमामा अक्टुबर २ मा हुने तय भएको छ भने नोभा सिनेमाकै हलमा अक्टुबर १२ मा छक्कापञ्जाको मेलबर्नमा तेस्रो शो हुने भएको छ । छक्कापञ्जा फिल्म हेर्न यहाँका दर्शकहरुमा उत्तिकै हतारो देखिएको छ ।

दीपाश्री निरौला यही फिल्मबाट निर्देशन विधामा लागेकी छिन् भने फिल्मको लेखन दीपकराज गिरिले गरेका हुन् । फिल्ममा दीपक,प्रियंका कार्की,वर्षा सिवाकोटी,जितु नेपाल,शिवहरि पौडेल,बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

chhakka

Comments

comments