काठमाडौं । बिहीबारदेखि भारतको चार दिने भ्रमण आरम्भ गर्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ दिल्ली पुगे लगत्तै राजनीतिक भेटवार्ता आरम्भ गर्नु भएको छ । यसक्रममा उहाँले पहिलो दिन नेपाल सम्बन्धि जानकार मानिएका भारतका बिभिन्न दलका नेताहरुसंग भेटवार्ता गर्नु भएको छ ।

नयाँ दिल्ली स्थित नेपाली राजदूतावासमा प्रधानमन्त्री दाहालले प्रवुद्ध समूहमा भारतका संयोजक एवं भारतीय जनता पार्टीका नेता भगतसिंग कोसियारी, जनता दलका डीपी त्रिपाठी, भारतीय कम्युनिष्ट पार्टीका सीताराम यचुरी, शरद यादव र विहारका मुख्यमन्त्री नितिशकुमार संग भेट गर्नु भएको छ । भारतीय नेताहरुसंगको भेटपछि प्रधानमन्त्री दाहालले माओवादीसम्वद्ध अखिल भारत नेपाली एकता मञ्चको बैठक समेत दूतावासको भवनमा बोलाउनु भएको थियो । बैठकमा भूमिगत कालमा भारतमा बस्दाका अनुभव प्रधानमन्त्री दाहालले सुनाउनु भएको बताइएको छ ।

प्रधानमन्त्री दाहाल यस अघि दिल्ली पुग्दा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभएको थियो । दाहाल अपरान्ह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै विदेशमन्त्री स्वराजले स्वागत गर्नुभएको थियो । विमानस्थलमा स्वागत गर्दै दाहाल र स्वराजबीच करिव १० मिनेट लामो कुराकानी भएको थियो ।

भेटमा यो भ्रमणले दुई देश बीचको सम्बन्ध सुमधुर हुने विश्वास लिएको प्रधानमन्त्री दाहालले बताउनुभएको छ । प्रधानमन्त्री दाहालले बिहीबार नै भारतका बिभिन्न मन्त्री र नेतागणसँग भेटवार्ताको कार्यक्रम रहेको छ ।

Please follow and like us:

Comments