काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ तामाङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्रीपरिषद वैठकले संस्थाकै ११ तहका कर्मचारी निर्देशक घिसिङलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो
मुकेशराज काफ्लेले भदौ २४ गते पदबाट राजिनामा दिएपछि रिक्त पदमा घिसिङको नियुक्ति भएको हो । रिक्त कार्यकारी निर्देशक नियुक्त गर्न ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा कमिटि गठन भएको थियो। कमिटिले मन्त्रालय, जल तथा ऊर्जा आयोगको सचिवालय, विद्युत विकास विभाग, प्राधिकरण, बूढीगण्डकी र नलसिंहगाढ जलविद्युत आयोजना विकास समितिबाट प्रस्ताव माग गरेको थियो ।

रामेछापको बेथानमा २०२७ मंसिर १० मा जन्मिएका घिसिङ विगत २० वर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत छन् ।

लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आइएसी गरेका उनले त्यसपछि छात्रवृतिमा भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा विएस्सी गरेका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङ’ मा स्नातकोत्तर सकेपछि उनले सिनामंगलको एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा पनि स्नातकोत्तर गरेका थिए।

२०५१ सालमा प्राधिकरणको सातौं तहको इन्जिनियरबाट सेवा सुरु गरेका उनले झन्डै २० वर्षको अवधिमा प्रसारण, वितरण र उत्पादन क्षेत्रमा अनुभव हासिल गरेका छन् । चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ साउनदेखि २०७१ असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका थिए । रसुवागढी, मध्यभोटेकोसी, सान्जेन माथिल्लो सान्जेन अघि बढाउन उनले विशेष भूमिका खेलेका थिए ।

तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले हस्तक्षेप गरेपछि २०७१ साउनमा घिसिङलाई प्राधिकरणमा फिर्ता बोलाइएको थियो ।

२०७१ असोजमा उनी प्राधिकरणको ११औं तह अर्थात निर्देशकमा बढुवा भएका थिए । निर्देशक भएपछि उनी राहुघाट जलविद्युत आयोजना प्रमुखको जिम्मेवारीमा थिए ।

Comments

comments