उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही गर्दा डन दिनेश अधिकारी ‘चरी’ मारिएको बताउनुभएको छ ।

संसदमा सभासदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री गौतमले चरी २०६२ सालदेखि विभिन्न अपराधमा संलग्न रहेको जिल्ला अदालत काठमाडौं र जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध गम्भीर फौजदारी मुद्दा समेत चलिरहेको बताउनुभयो ।

चरी भीमढुंगा हुँदै धादिङतर्फ जान लागेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीलाई गोली चलाएपछि जवाफी कारबाहीमा मारिएको गृहमन्त्री गौतमको भनाई छ । घटनाबारे गृह मन्त्रालयले समेत विवरण संकलन गरिरहेको  उहाँले बताउनुभयो ।

यसैवीच गृहमन्त्री गौतमले नेपालगञ्जमा भएको बलात्कार घटनाका अभियुक्तहरुलाई पक्राउ गरिसकेको र उनीहरुमाथि थप कानुनी उपचारको तयारी भइरहेको संसदलाई जानकारी गराउनुभयो ।
यसअघि सभामुख सुवासचन्द्र नेम्वाङले चरी घटना र नेपालगञ्जमा भएको बलात्कार सम्बन्धी सत्यतथ्य जानकारी गराउन रुलिङ गर्नुभएको थियो ।

Comments