काठमाडौं । २०६८ सालमा एसएसली दिन जाँदा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी पूजा बोहोराले कक्षा १२ को परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेकी छिन् ।

सोमवार प्रकाशित कक्षा १२ को परीक्षाफल अनुसार पूजा प्रथम श्रेणीमा उत्तीर्ण भएकी हुन् । उनी कक्षा ११ मा पनि प्रथम श्रेणीमै उत्तीर्ण भएकी थिइन् । अब स्नातकमा कानून विषय लिएर अध्ययन गर्ने योजनामा पूजा छिन् । उनी भन्छिन्–‘म दशैं पछि हुंने कानून संकायको स्नातक तहको प्रवेश परीक्षाको तयारीमा छु । म कानून पढ्छु र आफुजस्तै पीडितका पक्षमा असली न्याय दिलाउँनका लागि कानून व्यवसायी बन्छु ।’

रक्षा नेपालकी अध्यक्ष एंव पूजाले आमा मान्दै आएकी मेनुका थापाले पूजाको सफलतामा खुशी व्यक्त गरिन् ‘पास र फेल स्वभाविक कुरा हुन् । तर, जुन परिस्थितिबाट पूजा यहाँसम्म आइन्, यो उदाहरणीय छ । उनमा एक किसिमको अठोट छ । न्यायलयबाट ठगिएको महशुस उनले गरेकी छिन् ।’ पूजा बोहोराले तीन बर्ष अघि तत्कालिन कानून मन्त्रीलाई न्यायका लागि खुला पत्र लेखेपछि सरकारले पुनरावेदनको फैसला पुनरावेदनका लागि सर्वोच्चमा मुद्धा हालेको थियो । तर बर्षौ वितिसक्दापनि फैसला भएको छैन ।

महिला प्रधानन्यायाधीश भएको पनि महिनौं वितिसकेको छ । पूजा भन्छिन्, ‘अचानोको पीर खुकुरीलाई थाहा हुँदैन । पीडितले मात्र पीडा बुझ्न सक्छ । त्यसैले मैले न्याय क्षेत्रमा लाग्ने प्रण गरेकी हुं ।’

२०६८ सालमा एसएसली दिन जाँदा उनी सामूहिक बलात्कारमा परेकी थिइन् । रगतपच्छे भएकी उनको उद्धार गरी काठमाडौं ल्याइयो । मानसिकरुपमा विक्षिप्त रहेकी उनको ललितपुरस्थित पाटन मानसिक अस्पतालमा लामो समय उपचार भयो । बलात्कृत भएपछि उनी एसएसलीका बाँकी विषय दिन सकिनन् र अनुर्तिण भइन् ।

जीवनसँगै हार खाएकी उनका लागि एसएलसी पास हुनु र नहुनुले खासै अर्थ राख्दैनथ्यो । रक्षा नेपालमा शरण लिएकी उनी विस्तारै बौरँदै गइन् । आफुलाई बलत्कार गर्नेका विरुद्ध मुद्धा हालिन् । जिल्ला अदालतले दोषीलाई १३ बर्षको जेल सजाय तोक्यो । उनले केही गर्ने अठोट लिइन् । र, पुनः एसएलसी दिइन् । उनले प्रथम श्रेणीमा एसएलसी पास गरिन् ।

पुनरावेदन अदालतले दोषीलाई उन्मुक्ति दिएपछि उनी पुनः विक्षिप्त भइन् । उनले बलत्कारी दोषी नभएको अवस्थामा बलात्कृत आफु दोषी हुँ ? भन्ने प्रश्न राज्यसँग तेर्साइन् । तत्कालिन कानून मन्त्री नरहरि आचार्यलाई पूजाले लेखेको पत्र संचारमाध्यममा प्रकाशित भयो । सो पत्रले नेपालको न्याय प्रणालीलाई पेचिलो प्रहार गर्यो । पूजालाई न्यायलयले न्याय दिन नसकेपनि चौतर्फीरुपमा प्रोत्साहन मिल्यो ।

उनले प्लस टु पढ्न थालिन् । उनका लागि उनको वास्तविक नाम र पूजा बोहोरा दुबै गोप्य राख्नुपर्ने बाध्यता थियो । रक्षा नेपालले एक कलेजसँग सर्टिफिकेटमा वास्तविक नाम आएपनि कलेज रजिष्टर र हाजिरीमा अर्कै नाम रहनेगरी भर्ना व्यवस्था मिलाएको थियो ।

Comments

comments