काठमाडौं । राहदानी हराएकाहरुले अब पत्रिकामा विज्ञापन छाप्न र प्रहरी रिेपोर्ट लिइरहन नपर्ने भएको छ । राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाका अनुसार अबदेखि सीधै विभाग, सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा दूतावासमार्फत सहजै अर्को राहदानी लिन सकिनेछ

त्यति मात्र होइन, हराएको राहदानीबारे अब इन्टरपोलले समेत रेकर्ड राख्नेछ । हराएको पासपोर्ट प्रयोग गरेमा उक्त व्यक्ति सहजै पक्राउ पर्नेछ ।

राहदानी हराएको विज्ञापन छपाएर जिल्ला प्रहरी कार्यालयबाट रिपोर्ट ल्याउनुपर्ने व्यवस्थालाई विभागले सोमबारदेखि हटाएको हो । यसबाट पीडित व्यक्तिलाई पुनः राहदानी लिन निकै सहज भएको छ । विभागले एक महिनायता परीक्षणका रूपमा यो काम गरिरहेको थियो ।

राहदानी विभागमा आएर राहदानी हराएको निवेदन दिनेबित्तिकै शाखाले त्यसको विवरण बुझ्ने र त्यहीबाट प्रहरीको इन्टरपोलमा सहकार्य गरी पुरानो राहदानी नम्बरलाई ‘इन्एक्टिभ’ गर्दै नयाँ नम्बर राखिनेछ । यो व्यवस्था अनुसार जिल्लाबाट राहादानीको फारमसँगै हराएको निवेदन विभागमा आउँछ ।

निवेदन र भरेको नयाँ फारम अध्ययन गरी इन्टरपोलमा जानकारी दिँदै राहदानी बनाएर जिल्ला पठाइनेछ । त्यस्तै, प्रक्रिया विदेशमा रहेका नेपाली दूतावासबाट पनि अघि बढ्नेछ ।

Comments