काठमाडौं । गंगामाया बचाउ अभियानले गंगामाया अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको मुख्य आरोपी छविलाल पौडेललाई तत्काल पक्राउ नगरे आफूहरु अन्तर्राष्ट्रिय फौजदारी अदालत जाने चेतावनी दिएको छ ।

सर्वोच्च अदालतले समेत हत्याका मुख्य आरोपीलाई तत्काल पक्राउ गर्न आदेश दिएको उल्लेख गर्दै राष्ट्रिय कानुन बमोजिम कारवाही नगरे आफूहरु अन्तर्राष्ट्रिय कानुन बमाजिम अघि बढ्ने चेतावनी अभियानको छ ।

सोमबार राजधानीमा आयोजित अन्र्तक्रियामा अभियानकर्ता सुवोध प्याकुरेलले गंगामायालाई तत्काल अनशन तोड्न आग्रह गर्दै पहिला बाँच्न त्यसपछि मात्र संघर्ष गर्न सजिलो हुने सुझाव दिनुभयो । उहाँले चितवन जिल्ला अदालतले अस्पतालमै आएर बयान लिने भनेपनि अधिकारी बोल्न नसक्ने अवस्थामा रहेको जनाउँदै तत्काल सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो । अर्का अभियानकर्ता प्राध्यापक कपिल श्रेष्ठले सर्वोच्च अदालतले दोषी आशंका गरेको व्यक्तिलाई पक्राउ गरेर कारवाही अघि नबढाएको घट्नलाई मुलुकमा विधिको शासन नरहेको र सरकारले दण्डहिनताको माध्यमबाट शासन र सत्ता चलाउन लागेको आरोप लगाउनुभयो । उहाँले स्वदेशमा न्याय नपाएको अवस्थामा प्रक्रिया अन्तर्राष्ट्रिय भए नेपालका नेताहरुलाई सीमा पार गर्न समस्या पर्ने चेतावनी दिनुभयो ।

त्यस्तै अधिवक्ता एवम् मानवअधिकारकर्मी दिनेश त्रिपाठीले सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएको आरोपिलाई अहिलेसम्म पक्राउ नगर्नु सर्वोच्च अदालतको सर्वोच्चतालाई खिल्ली उडाउनु भएको टिप्पणी गर्नुभयो ।

त्यस्तै अधिकारकर्मी ओम अर्याल र बाबुराम गिरीले सर्वोच्च अदालतले दोषी ठह्रयाएको व्यक्तिलाई अहिलेसम्म पक्राउ नगरेर सरकारले मुलुकमा विधिको शासनको धज्जी उडाएको आरोप लगाउनुभयो ।

कार्यक्रममा मानवअधिकारकर्मी शर्मिला कार्कीले अपराधिलाई दण्ड दिलाउनको लागि पनि आफू बाँच्नु महत्वपूर्ण भएकोले तत्काल अनशन तोड्न आग्रह गर्नुभयो भने डा. केदारनरसिंह केसीले आफूलाई बचाएरमात्रै आफ्नो अधिकारकोलागि लड्न सकिने भन्दै अधिकारीलाई तत्काल अनशन तोड्न आग्रह गर्नुभयो ।

Comments

comments