काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको तयारी स्वरुप परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत आइतबार भारतको राजधानी नयाँ दिल्ली जानुहुने भएको छ ।

उच्च स्रोतका अनुसार परराष्ट्रमन्त्री डा.महत नयाँ दिल्लीमा पुगेर दाहालको भ्रमणको तयारी गर्नुहुनेछ ,

प्रधानमन्त्री दाहालले भदौको ३० गतेदेखि भारतको औपचारिक भ्रमण गर्दैहुनुहुन्छ । दाहालको भ्रमणलाई लिएर नयाँदिल्लीले तयारी सुरु गरिसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चार दिनको भ्रमणमा जान लागेका दाहालले पनि भारतसँग कुन कुन विषयमा कुरा गर्दा ठीक हुन्छ भनेर विज्ञहरूका साथै विभिन्न राजनीतिक दलका नेताहरूसँग परामर्श गर्दै आएका छन् ।

आइतबार नयाँदिल्ली पुग्ने परराष्ट्रमन्त्री डा.महतले भारतीय विदेश मन्त्री र बरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हैदराबाद हाउसमा भेट्नुहुनेछ । भेटका क्रममा दाहाल र मोदीवीच केही सम्झौता समेत हुने समाचारमा उल्लेख छ ।

भ्रमणका बेला दाहालले भारतीय राष्ट्रपति प्रणब मुखर्जीसँग पनि औपचारिक कुराकानी गर्ने जनाइएको छ ।

Please follow and like us:

Comments