काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले आफ्नो देशको आतंकवादी संगठनलाई समाप्त पार्न गोर्खा सैनिक ल्याउन लागेको बताएका छन् ।

केही दिनअघि फिलिपिन्सको डेभाओ सहरमा भएको आतंकवादी हमलापछि राष्ट्रपति रोड्रिगोले यस्तो जानकारी दिएका हुन् ।
फिलिपिन्स आतंकवादी संगठन अबु सयाफको आतंकबाट गुज्रिरहेको छ । हरेक दिनजसो देशका कुनै न कुनै सहरमा आतंकवादी हमला भई व्यापक धनजनको क्षति हुन थालेपछि फिलिपिन्सका राष्ट्रपति रोड्रिगोले राष्ट्रिय सुरक्षा अधिकारी र मन्त्रिपरिषद् बैठकमा गोर्खा सैनिक ल्याउने जानकारी दिएका हुन् । । ‘अबु सयाफसँग लड्न म गोरखा सैनिक ल्याउँदैछु,’ राष्ट्रिय सुरक्षा अधिकारी र मन्त्रिपरिषद् बैठकमा रोड्रिगोले भने ।

gorkhaफिलिपिन्सको चर्चित अनलाइन पत्रिका पिनायो ट्रेडिङ अनुसार गोर्खालीहरू ‘मर्न र मार्न’ नडराउने भएकाले अबु सयाफको अन्त्य उनीहरूबाट मात्र सम्भव हुने राष्ट्रपतिको भनाइ छ । ‘भाग्नु भन्दा मर्नु जाति’ भन्ने सिद्धान्तका आधारमा गोर्खालीले युद्ध लड्ने भएकाले उनीहरूलाई ल्याउन राष्ट्रपतिले पहल थालेको जनाइएको छ ।

‘उनीहरू पुरानो हतियार खुकुरीको भरमा हजारौंँसँग लड्न सक्छन्, एक गोरखा सैनिकले अफगानिस्तानमा ३० जना तालिवानलाई खुकुरीको भरमा एक घन्टामा हत्या गरेका छन्,’ राष्ट्रपति रोड्रिगोको भनाइ उल्लेख गर्दै अनलाइन समाचारमा जनाइएको छ । उनले जसरी भए पनि गोर्खा सैनिक ल्याएर मुलुकमा आतंकवादी संगठनको तहस–नहस गरिदिने चेतावनी दिएका छन् ।

तर गोर्खा सैनिक कहाँबाट कसरी ल्याउने भन्नेबारे केही खुलाइएको छैन ।

Comments