काठमाडौं । अर्घाखाँचीको हंशपुरमा आइतबार दिउँसो भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

घटनास्थलमा ९ जना र सन्धिखर्कमा उपचारको क्रममा थप दुई जनाको ज्यान गएको हो ।

कच्ची तथा उकालो सडक रहेको घटनास्थलबाट जिप करिब ७ सय मिटर तल खसेको बताइएकोे छ । दुर्घटनामा परी जिपका मालिक किमडाँडाका नारायण रानाको पनि मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा अधिकांश हंशपुरका रहेका स्थानीय रहेका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा गुल्मीका वुद्धि परियार, भेषबहादुर थापा, शिव बहादुर कुँवर, प्युठानका शोभासिंह रोकामगर, अर्घाखाँची हंसपुरका रामबहादुर घर्तीमगर, मीनबहादुर केसी, देवहादुर थापामगर, होमबहादुर घर्तीमगर,सीता नेपाली र कमला पौडेल रहेका छन् । यस्तै अर्घाखाँचीकी मीना पौडेल, कविता पौडेल, अर्जुन नेपाली, सुरज खनाल, प्युठानका जीवलाल पोखरेल र गुल्मीकी यमकला कुँवर घाइते भएका छन् ।

ग१ज ४८७८ नम्बरको जिप अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँदीकोट जाँदै गर्दा दिउँसो सवा तीन बजेतिर पोष्टापाटको भीरबाट तल खसेको थियो । दुर्घटनामा परि घाइते भएका चार जनालाई उपचारका लागि बुटवल पठाइएको छ भने दुई जनाको अर्घाखाँचीमै उपचार भैरहेको बताइएको छ । जीपमा १९ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

file: photo

Comments

comments