–लक्ष्मण गौतम,यूके

दाइ स्कुल टपियो,कलेज टपियो,डिग्रि गरियो तर भनेजस्तो जागिर पाईएन । १० फेल भएकाहरु जग्गा दलाली गरेर करोडौको गाडी चढछ्न्, नेता बन्छन् तर आफू भने मोटर साईकल समेत चढ्न सक्दिनँ । त्यसैले साह्रै फ्रस्टेट (दिक्क) भईयो । अब त यो देशमा एकदिन पनि बस्न मन छैन !

म नेपाल आउदा मलाई एकजना भाइले सुनाएको गुनासो हो यो ! आज वा भोलि ती भाइ पक्कै पनि कुनै बिकसित देशतिर लाग्ला र उतै सेटल होला ! भन्नलाई नेपालमा युवाको जनसंख्या १ करोडको हाराहारीमा छ भन्छन् । तर त्यसमध्ये ६०–७० लाख युवा विदेशमै छन् । नेपालका पढेलेखेका शिक्षित वर्ग पनि कुनै बिकसित मुलुक जान्छन् र उतै सेटल भएर बस्छन् ! जबसम्म राज्यले युवा वर्गलाई नेपालमै रोक्न वा विदेश गएकालाई नेपाल फर्किने वातावरण बनाउदैन तबसम्म नेपालको स्थिति यस्तै रहिरहन्छ । युवाशक्ति,ज्ञान र सीप विना देश कसरी बन्छ ? त्यसैले नेपाल बन्दै बन्दैन !

म बिगत १८ बर्षदेखि बेलायतमा बस्छु । मेरो आफ्नो परिवार पनि यही छ र म अबको ३ महिना भित्र बेलायत छाडेर नेपाल फर्कदै छु ! फेसबुकमा धेरैले मेरो यो निर्णयको प्रशंसा गरे पनि व्यक्तिगत रुपमा भेट हुदा वा कुरा गर्दा भने धेरैले तिमी बौलाएको त होईन ? भन्छन् ! यति लामो समयदेखि बेलायतमा छौ , यही सेटल छौ अनि यति साना साना बच्चा बोकेर किन नेपाल जाने ? बच्चाको भविष्य किन बिगार्ने ? नेपालमा के छ ? निती,नियम, कानुन केहि छैन, बिजुली छैन, पिउने पानी छैन, खाली बन्द हड्ताल हुन्छ,राम्रो स्वास्थ्य उपचार हुदैन ! यस्तोमा तिमीले यहा जन्मेका साना साना बच्चा बोकेर नेपाल फर्कने निर्णय गरेर तिमी बच्चाहरु माथि अन्याय गर्दैछौ !

मलाई मेरा आफन्त र साथीभाइहरुले दिने सुझाव यही हो । तर मेरो सबैलाई एउटै उत्तर हुन्छ–नेपालमा आत्म सन्तुष्टि छ । लाखौ बाल बच्चाहरु नेपालमा पनि पढ्छन्, के उनीहरुको भविष्य छैन त ? सबै यसरी नै विदेश बस्ने हो भने नेपाल कसले बनाउने ? म नेपाल फर्केर देशको लागि केहि गर्न नसकौला वा मानौं मेरा बच्चाहरुको भविष्य अन्धकार नै होला तर म कमसेकम म विदेश बस्ने लाखौ नेपालीहरुलाई एउटा सन्देश त दिन सक्छु नि ।

Comments

comments