काठमाडौं । हिडदैछ पाइला मेट्दै छ भने झै भएको छ बजार अनुगमन । अनुगमन कार्य प्रभावकारी बन्न नसक्दा बजारमा मनोपोली मच्चाउने व्यापारीको चकचकी निरुत्साहित हुनुको सट्टा झनै उत्साहित हुँदै गर्दा व्यापारी र तीनका आधिकारिक निकायहरु अनुगमन विरुद्ध झनै ठूलो स्वर गर्न थालेका छन् । यस्ले गर्दा अनुगमन कार्यमा झनै असर पर्ने निश्चित देखिएको छ ।

बजारमा दिनहुँजसो उपभोक्ता कालोबजारीबाट पीडित भइरहे पनि दोषीउपर कारबाही हुन नसकेको गुनासो बढेपछि साउन ३१ देखि विशेष अभियानस्वरूप अनुगमन कार्य तीब्र बनाइयो र सरकारले उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कारबाही गर्ने दाबी गरे पनि प्रक्रिया पूरा नगरी उन्मुक्ति दिने गर्दै आएको छ । सात दिनको विशेष अभियानअन्तर्गत साउन ३१ गतेयता पौने २ सय व्यावसायिक फर्ममा अनुगमन गरी ४१ फर्म सिलबन्दी गरेको थियो । तर, सिलबन्दी गरेका फर्मलाई प्रक्रिया नपुयाई खुला गर्ने प्रक्रिया पनि सुरु भएको छ । बुधबार चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटको पाँचौं तलामा रहेको भाटभटेनी फुड प्रोडक्ट कालोपुलमा रहेको बिग मार्ट र महराजगन्जमा रहेको सेलवेज मार्ट सिलबन्दी फुकुवा गरिएको छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले उपभोक्तालाई राहत दिन सबैले थाहा पाउने गरी कारबाही गनुपर्ने बताउनु भयो । नयाँ मन्त्री आउने बित्तिकै विशेष अनुगमन भनिए पनि सोही समस्या पुनः दोहोरिएको उहाँ भनाइ छ ।

यसअघि पनि तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनले पनि विशेष अभियानस्वरूप एक साता अनुगमन कार्यलाई तीब्रता दिएका थिए । त्यसक्रममा पनि म्याद नाघेको खाद्यान्न, खानेपानीको जारमा सिल नलगाई कारोबार गरेको फेला परेको थियो । वधशालामा अत्यधिक फोहोर फेला परेको थियो । ती व्यवसायीलाई कानुनअनुसार कडा कारबाही गर्ने जनाए पनि कारबाही हुन सकेको छैन । जस्ले गर्दा उपभोक्ता र सेवाग्राहीको विश्वास गुम्दै जाँदा कालाबजारी र मनपरि गर्ने व्यापारीहरुको मनोबल पुनः उच्च बन्दै गएको छ ।

Comments

comments